बायाँबाट; मृतन रविना खातुन । खातुनका पिता कलामोदीन अन्सारी ।
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका – २ सीसयाडी बैरिया निवासी कलामोदीन अन्सारी विगत तिन वर्षदेखि प्रहरी, प्रशासन र अदालतको चक्कर काटिरहेका छन् । छोरीको हत्यारालाई सजाय दिलाउन उनको यो सङ्घर्ष कहिले टुङ्गिने हो निधो छैन । तर, उनले हरेस खाएका छैनन्, लडाइँलाई निरन्तर जारी राखेका छन् ।
कोरोना महामारीका कारण पहिलो लकडाउन चलिरहँदा कलामोदीनको जेठी छोरी रविना खातुनको वीरगञ्ज – १७ अलौँ घर भएका सहाजिम मियाँ अन्सारीसँग २०७७ असोज २६ गतेका दिन विवाह भयो । सुरुमा सबै ठिकै थियो, तर विवाहको २-३ महिनापछि छोरीले फोन गरेर श्रीमान्को अन्य महिलासँग सम्बन्ध र सासूले यातना दिइरहेको बताउन थालिन् । छोरीको पिडा सुनेर कलामोदीन ज्वाइँ भेट्न पुग्दा उनीसँग दाइजोमा दिन बाँकी रहेको मोटरसाइकल र भाँडाकुँडा माग गरियो ।
विवाह बेला तिन लाख रुपैयाँ नगद, एक तोला सुन, एक लाख २७ हजार रुपैयाँको फर्निचर, चाँदीको पायल, नाकमा लगाउने थोपी लगायतका गहनासमेत गरी झन्डै १२ लाख रुपैयाँको दाइजो दिए पनि मोटरसाइकल र भाँडाकुँडा दिन अझै बाँकी थियो । लामो समय विदेशमा बसेर कमाएको पैसा ऋण चुक्ता गर्न र छोरीको विवाहमा खर्च भइसक्दा उनले केही महिना भित्र बाँकी रहेको दाइजो उपलब्ध गराउने बाचा गरेका थिए । यद्यपि कोरोनाका कारण काम बन्द हुँदा पैसाको जोहो हुन सकिरहेको थिएन । ‘त्यो दिन छोरी र ज्वाइँको परिवारलाई जसोतसो सम्झाइ बुझाइ घर फर्किए । तर, छोरीलाई यातना दिने क्रम जारी रह्यो,’ उनले भने ।
रविनामाथि कुटपिट भएको खबर पाएपछि २०७८ वैशाख १ गते नयाँ वर्षका दिन छोरीलाई फेरी भेट्न पुग्दा ज्वाइँले कलामोदीनलाई भनेका थिए ‘की दाइजोमा सकार गरेको जिन्सी दिनुस्, की छोरीलाई लिएर जानुस्’ । जवाफमा ‘पञ्च बोलाएर छलफल गर्छु अनि मात्र छोरीलाई लिएर जान्छु’ भनेर उनी फर्किएको सम्झिनछन् । तर, वैशाख ३ गते नै उनले छोरीको मृत्यु भएको खबर पाए । तिन महिने गर्भवती रविनाको आफ्नै कोठामा शव भेटिएको थियो । ससुराली पक्षले छोरीले आत्महत्या गरेको भने पनि कलामोदीनले त्यो कुरा पत्याउन सकिरहेका थिएनन् । ‘छोरीले आत्महत्या गरेको छ भनेर मलाई जानकारी गराइयो तर मलाई विश्वास लागेन,’ उनले भने, ‘दाइजो नदिएको कारण उनीहरूले मेरो छोरीको हत्या गरेका थिए ।’ नयाँ वर्षकै दिन छोरीलाई फिर्ता नल्याएको उनलाई सधैँ पछुतो लाग्छ । ‘सायद त्यहीँ दिन मैले छोरीलाई घर ल्याएको भए उ अहिले जीवित हुन्थ्यो,’ उनी भन्छन् ।
अनि सुरु भयो न्यायका लागि सङ्घर्षको यात्रा
घटनाको दिन प्रहरीले आवश्यक अनुसन्धान गर्दै मुचुल्का उठाएर लगेको थियो । रविनको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइयो । अर्को दिन पोस्टमार्टम भए पनि रिपोर्ट झन्डै एक महिनापछि वैशाख ३० गते मात्र आयो । ‘उनीहरूले पोस्टमार्टम गर्ने डाक्टरलाई पनि मिलाएका थिए । कोरोनाको कारण देखाएर रिपोर्ट दिन ढिलो गरे पनि पर्दा पछाडि अर्कै खिचडी पाकिरहेको थियो । छोरीको हत्यालाई आत्महत्या देखाउन रिपोर्ट सार्वजनिक गर्न ढिलाइ गरियो,’ उनले भने ।
कलामोदीनको शङ्का सही ठहरियो जब नारायणी अस्पतालका चिकित्सक डा. अजितकुमार साहले गरेको पोस्टमार्टम रिपोर्टमा रविनाको मृत्युको कारण झुन्डिएर भएको देखाए । प्रहरीको मुचुल्कामा रविनाको शरीरमा चोटपटक देखिए पनि पोस्टमार्टम रिपोर्टमा भने त्यस्तो उल्लेख गरिएको थिएन । ससुराली पक्षले रविनाले झुन्डिएर आत्महत्या गरेको दाबी गरे पनि उसलाई झुन्डिएको अवस्थामा कसैले पनि देखेको थिएन । झुन्डिएको कुरालाई पुष्टि गर्ने कोठाबाट प्रहरीले एउटा दुपट्टा बाहेक कुनै प्रमाण पनि फेला नपारेको उनी बताउँछन् । त्यसमाथि कुटपिटका कारण तुहिएको गर्भको बारेमा पनि पोस्टमार्टम रिपोर्टमा जिकिर गरिएको छैन । जबकि पोस्टमार्टम पश्चात् एक सुरक्षाकर्मीले तुहिएको गर्भको तस्बिर आफूलाई देखाएको कलामोदीनको दाबी छ ।
यसबिच कलामोदीन प्रहरी कार्यालयको चक्कर पनि काटिरहेका थिए । ज्वाइँ, सम्धिनी र रविनाको जेठानीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उनको जाहेरी प्रहरीले लिन मानिरहेको थिएन । ‘प्रहरीले उठाएको मुचुल्कामा पनि घटना शङ्कास्पद देखिएको थियो । तर, मेरो जाहेरी लिइरहेको थिएन । उनीहरूले प्रहरीलाई पनि पैसा खुवाएका थिए । सधैँ नयाँ बहाना बनाएर जाहेरी दर्ता गर्नबाट प्रहरी पन्छिन्थ्यो,’ कलामोदीनले सम्झिँदै भने, ‘पछि स्थानीय नेता, सञ्चारकर्मी र अन्य भर भलाद्मीबाट दबाब गएपछि एसपी सा’ब (प्रहरी उपरीक्षक) ले जाहेरी दर्ता गर्नुभयो ।’
पर्सा प्रहरीका तत्कालीन एसपी बेलबहादुर पाण्डेको आदेशमा २०७८ जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ज्वाइँ साहाजिम, सम्धिनी नुरजहान खातुन र रविनाको जेठानी मोफिना भनिने सफिना खातुनविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भयो । दाइजोको विषयमा गालीगलौज र यातना दिने गरेको, झुन्डिएको भने पनि प्रत्यक्षदर्शी कोही नभएको, मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिएको, घाँटीमा दुपट्टाको डामसमेत नरहेको, मृत्यु भएको कोठाको ढोका पनि खुल्लै रहेको र बेडमा सुतिरहेको अवस्थामा शव बरामद भएको जस्ता कारण देखाउँदै कलामोदिनले रविनाको आत्महत्या नभई हत्या भएको दाबी गर्दै तिनैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए ।
घटनाको अनुसन्धानमा समेत प्रहरीले हेलचेक्र्याइँ गरेको कलामोदीन आरोप छ । कर्तव्य ज्यानको जाहेरीलाई आत्महत्या दुरुत्साहनमा परिवर्तन गरेर पुनः जाहेरी दिन आफूमाथि प्रहरीले दबाब दिएको उनी बताउँछन् । ‘अनुसन्धानका क्रममा कर्तव्य ज्यानको जाहेरीलाई फिर्ता लिएर आत्महत्या दुरुत्साहन भनेर जाहेरी दिन तत्कालीन मुद्दा शाखाका प्रहरी निरीक्षकले मलाई दबाब दिएका थिए । मैले नमानेपछि उल्टै हप्काएर कुरा गर्थे,’ कलामोदीनले सुनाए । प्रहरीले घटनास्थलबाट बरामद गरेको दुपट्टा पनि अदालतमा सबुतका रूपमा प्रस्तुत नगरेको उनी बताउँछन् । ‘मुद्दा फाँटका इन्स्पेक्टर सा’बले ज्वाइँको मोबाइलमा छोरीलाई कुटेपछि भुईँमा लडेर छटपटाइरहेको एउटा भिडियो पनि देखेका थिए । तर प्रहरीले त्यो पनि अदालतमा सबुतको रूपमा प्रस्तुत गरेको छैन,’ उनले भने ।
कलामोदीनले जाहेरी फिर्ता नलिएपछि प्रहरीले मुद्दा पर्सा जिल्ला अदालतमा पुग्यो । त्यहाँ २०७८ असार १३ गते ज्वाइँ साहजिम र जेठानी सफिनालाई पुर्पक्षका लागि थुनामा राख्ने र आमा नुरजहानलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भयो । तर, पर्सा जिल्ला अदालतको आदेश उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले भने उल्ट्याइदियो । न्यायधीशद्वय सारङ्गा सुवेदी र गणेशप्रसाद बरालको इजलासले साहजिम र सफिनालाई पनि जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।
उच्चको आदेशविरुद्ध कलामोदिनले २०७८ भदौ १३ गते सर्वोच्च अदालतमा पुनरावेदन दिए । १९ महिनापछि २०७९ फागुन २६ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले उच्चले तोकेको एक लाख रुपैयाँको धरौटी रकमलाई कम भएको उल्लेख गर्दै खारेज गर्यो । सर्वोच्चले सहाजिम र मोफिनाबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम जनही पाँच लाख रुपैयाँ धरौटी, जमानत वा बैङ्क जमानत दिए लिनु र दिन नसके कानून बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी आदेश दिएको थियो । अदालतले तोकेको धरौटी रकम तीरेर सहाजिम, मोफिना र नुरजहान तारेखमा रिहा भएका छन् । ‘यो देशमा पैसा भएकाहरूमाथि कुनै कानून लाग्दैन,’ उनले भने, ‘मेरा छोरीका हत्याराहरु आज खुल्ला घुम्दै छन् । अदालतको लागि मेरो छोरीको ज्यानको मूल्य जम्मा ११ लाख रुपैयाँ रहेछ ।’
पोस्टमार्टम रिपोर्ट गलत बनाउने चिकित्सकविरुद्ध जाहेरी
छोरीलाई न्याय दिलाउन कलामोदीनको सङ्घर्ष निरन्तर जारी छ । आरोपितहरूले उठाउने पेशी बारे जानकारी लिन उनी अदालत पुगिरहन्छन् । पोस्टमार्टम रिपोर्ट गलत बनाएको आरोप लागेका चिकित्सक डा. अजितकुमार साहविरुद्ध पनि उनले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले सोझै जाहेरी लिन नमानेपछि उनले हुलाक मार्फत जाहेरी पठाएका छन् । ‘चिक्तिसकविरुद्ध मुद्दा चलाए आन्दोलन हुन्छ, डाक्टरहरूले मेडिकल सेवा ठप्प गर्छन् भन्दै प्रहरीले मेरो जाहेरी दर्ता गर्न मानेको छैन । पछि एक जना वकिल सा’बको सुझावअनुसार हुलाक मार्फत प्रहरीमा जाहेरी पठाएको छु,’ उनले भने ।
डा. साहलाई बकपत्रका लागि पर्सा जिल्ला अदालतले बोलाएको छ । उनलाई हिजो जेठ २५ गते मात्रै बकपत्रका लागि अदालतमा उपस्थित गराउन भनिएको थियो । तर, उनी उपस्थित भएनन् । उनलाई जेठ २९ गते फेरी बोलाइएको छ । कलामोदीनले नेपाल मेडिकल काउन्सिलमा पनि डा. साहविरुद्ध उजुरी दिएका छन् । त्यहाँ पनि उनको मुद्दालाई तामेलमा राखिएको छ ।
‘छोरीको हत्यारालाई कठोर सजाय नदिलाएसम्म मलाई चैन पाउँदैन । जहाँसम्म सक्छु, लड्छु,’ उनले भने, ‘मैले आफ्नो खुट्टा कमाउँदा दाइजोका लागि हत्या हिंसा गर्ने पापीहरूको मनोबल बढ्छ । मेरो छोरी जस्तो कसैको छोरीले पिडा भोग्नु नपरोस् ।’
अदालतको थुनछेक बहसमा जान ऋण
घरमा रङ्ग रोगनको काम गर्दा ४१ वर्षीय कलामोदीनले दैनिक एक हजार रुपैयाँसम्म कमाउँछन् । ‘पेन्टरको काम सिजनल हो । सधैँ पाउँदैन, हप्तौँसम्म घरमै बस्नु पर्छ,’ उनले भने, ‘प्रहरी र अदालतको चक्कर काट्दा उल्टै ऋण उठाउनु परेको छ । अहिलेसम्म मुद्दा—मुकदमा ७/८ लाख रुपैयाँ खर्च भइसक्यो । अझै कति खर्च हुने हो, थाहा छैन ।’
कलामोदीनको परिवारमा श्रीमती, आमासँगै अझै तिन छोरी र एक छोरा छन् । कमाउने उनी एक्लै हुन् । अरू छोरीको पढाइ र विवाहको लागि पैसा जोहो गर्न फेरी विदेश जाने सोच बनाएका उनी त्यहाँ पनि जान पाएका छैनन् । ‘सम्पत्तिको नाममा गाउँको एउटा घर मात्रै हो, हामीहरू बहुत गरिब छौँ । कमाए खाम्छौँ, नकमाए भोकै सुत्नु पर्छ’, उनले भने, ‘थुनछेक बहसका लागि काठमाडौँ जानका लागि ऋण लिएको छु । मेरो पूरा परिवार तहसनहस भइसकेको छ ।’