×

तस्विरहरु : आशुकुमार सर्राफ / यात्राडेली ।

वीरगञ्ज । घडिअर्वा हुँदै आदर्शनगर जाने बाटोमा रहेको म्याचीङ सेन्टर कपडा पसलका सञ्चालक गौरव अग्रवाल एक सातादेखि तनावमा छन् । सोचेअनुसारको व्यापार नभएपछि पसलका लागि यस महिनाको खर्च जुटाउन उनलाई धौधौ परेको छ । 

‘गर्मीका कारण बजारमा मान्छे नहुँदा दिनभरी बोहनी पनि नगरी बस्नु परेको छ,’ मलिन अनुहार बनाउँदै उनले सुनाए, ‘३–४ बजेपछि ग्राहक आए थोरबहुत विक्री हुन्छ । तर त्यसले घरभाडा तिर्न समेत पैसा पुग्दैन । अन्य खर्च तिर्नु त धेरै ठूलो कुरा हो ।’ आर्थिक मन्दी र बैंक ब्याजको मारमा परेका व्यवसायीलाई गर्मीले झन् अफ्ठ्यारोमा पारेको उनको भनाई छ ।

तर अग्रवालले लगानी गरेको अर्को व्यवसाय साइडन इण्डष्ट्रीजमा भने आम्दानी बढेको छ । घरायसी विद्युतीय सामग्रीको कारोबार गर्ने साइडन इण्डष्ट्रीजबाट सोही अवधिमा उनले राम्रो सङ्ख्यामा कूलर बेचेका छन् । ‘भगवानको कृपाले अर्को व्यवसायले खर्च धान्न सहयोग पुगेको छ । नभए यसपालि स्टाफ खर्च तिर्ने पैसासमेत पुग्थेन,’ उनले भने । गर्मी बढेदेखि वीरगञ्जमा मात्रै आफूहरुले त्यस्त्रो कूलर बेचेको उनले बताए । अन्य व्यापारीले पनि, पङ्खा, कूलर, एसी, फ्रिज र चिल्लरको विक्री बढेको बताएका छन् ।  

अग्रवालद्वारा सञ्चालित दुवै व्यवसायमा भइरहेको कारोबारबाट हामीले वीरगञ्ज बजारको वर्तमान अवस्था बारे अनुमान लगाउन सक्छौँ । पछिल्लो केहि दिन यतादेखि ह्वातै बढेको गर्मीसँगै चलेको तातो हावा (लू) का कारण बजारमा चहलपहल घटेको छ । दिउँसो तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्दा बजारमा नगन्य मान्छे हुन्छन् । 

एकातर्फ प्रचण्ड गर्मीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको छ भने अर्कोतर्फ पङ्खा, कूलर, एसी, फ्रिजको विक्री बढेको छ । पङ्खाले पनि तातो हावा दिन थालेपछि कूलर र एसी जडान गर्ने क्रम बढेको ब्लूस्टार एसीका लागि वीरगञ्जका आधिकारिक विक्रेता एअरकन नेपालका राज आलमले बताए । ‘दैनिक २५ वटासम्म एसी बिक्रि गरेर हामीले पाँच लाख भन्दाबढीको कारोवार गरिरहेका छौँ,’ उनले भने । 

एसी कूलरको माग बढ्दा कपडा, विद्युतीय उपकरणलगायत अन्य खुद्रा सामग्रीको व्यापार झन्डै चौपट भएको व्यवसायीको दुःखेसो छ । गर्मी बढेसँगै व्यापारमा ६० प्रतिशतसम्म गिरावट आएको घण्टाघरस्थित न्यू आदर्श वाच सेन्टरका सञ्चालक रवी सर्राफ बताउँछन् । ‘पहिला दैनिक १८ देखि २० हजारसम्मको व्यापार हुन्थ्यो अहिले बजारमा मान्छेनै नहुँदा पाँच हजार पुग्दैन,’ उनले भने, ‘घरभाडा, बैंक ब्याज, बिजुलीलगायतका अन्य खर्च उठाउनका लागि दैनिक कम्तीमा पनि १५ हजारसम्मको बिक्रि हुनुपर्छ । तर अहिले ५ हजार पुर्‍याउन मुस्किल छ ।’ 

दैनिक ज्यालादारी र मजदूरी गर्नेहरुका लागि त गर्मी झन् ठूलो सङ्कट बनेर आएको छ । रिक्सा तानेर दैनिक एक हजार रुपैयाँसम्म कमाइ गर्दै आएका शिवपूजन पासवानको आम्दानी अहिले ३–४ सयमा झरेको छ । ‘पहिलादेखिनै ई–रिक्साले गर्दा घटेको हाम्रो आम्दानी अहिले साफै भएको छ,’ पासवानले भने, ‘दिउँसो सवारी पाइँदैन, साँझ र राती अवेरसम्म रिक्सा तान्दापनि मुस्किलले ३–४ सय रुपैयाँ कमाई हुन्छ । त्यतीले दैनिक दाल, चामल किन्ने पैसा पनि पुग्दैन ।’

पर्यटन व्यवसाय पनि गर्मीले प्रभावित भएको छ । गर्मीयाममा राम्रो व्यापार गर्ने स्वीमिङ पूलहरुको आम्दानी यसपटक घटेको छ । परवानीपुरमसा सञ्चालनमा आएको थिर्ल फ्याक्ट्री वाटर पार्कले आफ्नो ग्राहक तानेको अमलेखगञ्जस्थित क्यू-ट्वान्टी होटल एण्ड रिसोर्टका लेखापाल अजय विश्वकर्माले बताए । ‘बच्चाहरु त्यहीँ जान रुचाउँछन्, अब जहाँ बच्चा जाँदैछन् अभिभावक पनि त्यहीँ जानु स्वाभाविक हो,’ विश्वकर्माले भने, ‘पहिलाको तुलनामा हाम्रो स्वीमिङ पूलमा आउने ग्राहकको सङ्ख्या ह्वातै घटेर गएको छ । सबै थ्रिल फ्याक्ट्री जान थालेका छन् ।’

केहि महिना अगाडि सञ्चालनमा आएको मनोरञ्जनात्मक केन्द्र थ्रिल फ्याक्ट्री अहिले भरिभराउ छ । स्वीमिङसँगै खेलकूद पनि गर्न मिल्ने थ्रिल फ्याक्ट्रीले बच्चादेखि युवा र वृद्धवृद्धाहरुलाई समेत आकर्षित गरेको छ । हिजो शनिबार मात्रै ९ सयभन्दा बढी ग्राहक आएको त्यहाँको व्यवस्थापन पक्षले जनाएको छ ।

गण्डकस्थित क्लार्क रिसोर्टमा पनि गर्मीका कारण कारोबार घटेको छ । दैनिक ५ देखि ७ लाखसम्मको कारोवार हुने रिसोर्टमा अचेल मुस्किलले २ देखि साढे दुई लाखसम्मको कारोवार हुने गरेको रेस्टुराँ म्यानेजर राघवकुमार राय बताउँछन् । उनकाअनुसार अन्य दिनको तुलनामा शुक्रवार र शनिवार भने कारोवार बढी हुने गरेको छ । दैनिक कम्तीमा १५ वटा कोठामा २५ देखि ३० जनासम्म बस्नका लागि आउने गरेका छन् भने तिमध्ये अधिकांश भारतीय नागरिक नै हुने गरेको रायको भनाई छ । 

विगतमा दिउँसो पनि भिडभाड हुने रिसोर्टको स्विमीङ् पूलमा भने अचेल अपरान्ह ३ देखि ४ बजेपछि मात्रै उपस्थिती बाक्लिने गरेको छ । करिब ४ बजेदेखि राति ८ बजेसम्म स्विमिङ् पुलमा पौडी खेलेर गर्मीको आहतमा राहत पाउनेहरुको भिड हुने गरेको छ । अन्य दिन १५ देखि २० जना हुने स्विमिङ् पुलमा शुक्रवार र शनिवार भने करिब ५० देखि ६० जनासम्म आउने गरेको रायले बताए । 

वीरगञ्ज बस्नेहरु अहिले गर्मी छल्नका लागि विभिन्न होटल एवम् रेस्टुरेन्टका स्विमिङ् पुलदेखि हेटौंडाको त्रिखण्डी खोलासम्म पुग्ने गरेका छन् । शनिवार वा अन्य विदाको दिन त्रिखण्डी खोलामा वीरगञ्जबाट कोहि न कोहि पुगेकै हुँदैन । लस्सी, जुस तथा चिसो पिउनका लागि पेय पदार्थ पाइने पसलहरुमा पनि ग्राहकहरुको भिड उत्तिकै बढेको छ । 

दैनिक ज्यालादारी गर्ने श्रमिकदेखि व्यापार व्यवसाय गर्नेहरुसम्म मात्रै नभएर खेतीपातीको काम गर्ने कृषकसम्मको जनजीवन प्रचण्ड गर्मीका कारण प्रभावित भएको छ । वीरगञ्ज आसपासका क्षेत्रमा ४० देखि ४३ डिग्री सेल्सियससम्म तापक्रम पुग्दा यहाँको दैनिकी प्रभावित बनेको हो । जिल्लाका अधिकांस स्थानीय तहले विद्यालयमा एक हप्तासम्म वीदा घोषणा गरेका छन् भने हातो हावा (लू) बाट जोगिन स्वास्थ्य मन्त्रालयले पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

Back to top