साङ्केतिक तस्विर ।
वीरगञ्ज । केही दिनयता तापक्रममा अत्याधिक वृद्धि हुनगइ गर्मी अचाक्ली बढेको छ । उर्खमाउलो गर्मी र तातो हावासहितको ‘लू’का कारण जनजिवन कष्टकर बनेको छ । यहिबेला बेला न कुबेला झ्याप्झ्याप बत्ती जाने समस्याले वीरगञ्ज र यश आसपासका उपभोक्ता दिक्क बनेका छन् ।
मौसम बदलिएर गत हप्तादेखि ह्वातै बढेको गर्मीका कारण बाहिर निस्किन नसकेका वीरगञ्जवासी पाँच-पाँच मिनेटमा बत्ती जाँदा घर भित्र पनि राम्ररी बस्न सकेका छैनन् । वीरगञ्ज र आसपासका क्षेत्रमा बत्ती आउने र जाने नियति नै बनेको छ ।
‘दिउँसोको समयमा वीरगञ्जको तापक्रम ४०-४२ डिग्री सेल्सियस पुग्छ । घाम पनि शरीर जलाउने किसिमको छ । बाहिर निस्किने अवस्था छैन,’ श्रीपुरका सञ्जय शर्माले भने, ‘घर भित्र बसौं भने यहाँपनि चैन छैन, पाँच-पाँच मिनेटमा बत्ती जान्छ । विद्युत प्राधिकरणले हद गरिसक्यो ।’
वीरगञ्जमा दिउँसो मात्रै झ्याप्झ्याप गरेर दैनिक दुईदेखि तिन घण्टासम्म बत्ती जाने गरेको छ । राती त एक पटक गएपछि घण्टौँसम्म आउँदैन । घडिअर्वाकी गरिमा पाण्डेले भनिन्, ‘अत्ती भइसकेको छ, अस्ति हाम्रो टोलमा रातभरी लाइन थिएन । सुत्न नसक्दा भोलीपल्टको पूरै दिन बर्बाद भयो । अर्को रात फेरी बत्ती आउने जाने गर्दा सुत्न पाइएन ।’
विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडीङ सुरु गरेको आइटी उद्यमी ऋषि साहले गुनासो गरे । छिनछिनमा बत्ती जाँदा विद्युतीय उपकरणमासमेत असर पर्ने गरेको साहको भनाई छ । ‘अचानक बत्ती गएर कम्प्युटर बन्द हुँदा काम प्रभावित हुन्छ, सेभ नगरिएको डेटा त उड्छ नै कम्प्युटरको हार्डवेयरमा समेत समस्या आउँन थालेको छ,’ उनले भने । बत्ती जाँदा विद्युतीय उपकरण बिग्रिएर लाग्ने रकम विद्युत प्राधिकरणसँग तिराउनु पर्ने उनले बताए ।
अघोषित लोडसेडिङले घरेलु उपभोक्ता मात्रै हैरान छैनन् व्यवसायीपनि मार्कामा परेका छन् । पानीट्याङ्कीमा डिलाइट गो रेस्टुराँका सञ्चालक हिरा श्रेष्ठले बत्ती नभएको बेला जेनेरेटर चलाउँदा हुने अतिरिक्त खर्चका कारण घाटा व्यहोर्नु परेको दु:खेसो पोखे । ‘गर्मीको बेला रेस्टुराँमा बसेका ग्राहक एकछिन पनि एसी बिन बस्न सक्दैनन्, लाइन काटेको बेला जेनेरेटर चलाउनै पर्यो । त्यसमा मात्रै हाम्रो दैनिक २ हजारसम्म खर्च भइरहेको छ,’ आक्रोशित हुँदै श्रेष्ठले भने, ‘आर्थिक मन्दीसँगै आएको महँगीमा खर्च बढ्दा व्यवसायनै घाटामा जान थालेको छ । सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्यो ।’
श्रेष्ठले रेस्टुराँ छेउमै होटल ज्योती प्यालेस पनि सञ्चालन गरेका छन् । अनियमित विद्युत कटौतीका कारण होटलबाट पनि गुणस्तरीय सेवा उपलब्ध गराउन नसकिएको उनले बताए । ‘रातीराती बत्ती जाँदा स्टाफले जेनेरेटर चलाउँदासम्म कोठा भाडामा लिएका ग्राहक गर्मीमै सुत्न बाध्य हुन्छन्,’ उनले थपे, ‘जसले गर्दा हाम्रो होटलको सेवानै राम्रो छैन भन्ने सन्देश गइरहेको छ । व्यापारमा त घाटा भएकै छ, वर्षौं लगाएर बनाएको छवीसमेत बिग्रिने डर छ ।’ अघोषित रुपमा लाइन काट्नुभन्दा विद्युत प्राधिकरणले लोडसेडीङ्को तालिका नै सार्वजनिक गर्न उनले बताए ।
यता, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख प्रकाशकुमार बस्नेतले प्रणालीमै समस्या भएको कारण पटकपटक बत्ती जाने गरेको बताए । अनियमित बत्ती जाँदा समस्या भइरहेको कुरालाई स्वीकार्दै उनले भने, ‘ग्रिडमै प्रोब्लम छ । नयाँ निर्माण नभएसम्म लोड बढी भएको समयमा लाइन आउने जाने क्रम निरन्तर जारी रहन्छ ।’
हाल वीरगञ्जको प्रतिमा चोकमा निर्माण भइरहेको १३२ केभीएको ग्रिड बनेपछि समस्याको अन्त्य हुने उनले दावी गरे ।