×

तस्विर जनमतका नेता मुकेश द्विवेदीको फेसबूकबाट साभार ।

वीरगञ्ज । पर्सा जिल्लामा मधेशको मुद्दालाई आफ्नो प्रमुख अजेण्डा बनाएर राजनीति गर्दै आएका दलहरु कमजोर बन्दै गएका छन् । मङ्सिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन (आम निर्वाचन) मा आएको मतपरिणामले पनि यसलाई पुष्टि गर्छ ।

२०७४ को आम निर्वाचनबाट उदाएका मधेश केन्द्रित दलबाट निर्वाचित जनप्रतिनिधिले जनमुखी काम गर्न नसकेपछि जनतामा उनीहरु प्रति वितृष्णा बढ्दै गएको छ । । फलस्वरूप जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जस्ता मधेश केन्द्रित दल पर्सामा खुम्चिएका छन् । 

०७४ को निर्वाचनमा जिल्लाको चारवटै क्षेत्रमा जित निकालेको मधेश केन्द्रित दल ०७९ को निर्वाचन आउँदा एउटा क्षेत्रमा सिमित भयो । प्रदेशसभा तर्फपनि उस्तै अवस्था छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि मधेश केन्द्रित दलको प्रस्तुती राम्रो रहेन । 

मधेश केन्द्रित दल प्रतिको वितृष्णाको फाइदा भने नवगठित जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जस्ता दलले उठाइरहेका छन् । गत आम निर्वाचनबाट मूलधारको राजनीतिमा आएका दुवै दलमा जसपा र लोसपा त्यागेर जानेहरुको लर्को लागेको छ ।

पर्सामा नागरिक उन्मुक्ति भन्दा सांसद् डा. सिके राउत नेतृत्वको जनमत पार्टी प्रतिको आकर्षण बढी छ । पछिल्लो केहि समय यता कांग्रेस, माओवादी, एमाले र विशेषगरी जसपा र लोसपा जस्ता मधेश केन्द्रित दल त्यागेर ठूलाबडा नेताहरुले जनमतमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा लोसपाका पूर्व वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफ, जसपाका युवा नेता मुकेश द्विवेदी लगायत रहेका छन् । सर्राफ र द्विवेदी वैशाखमा सम्पन्न उपनिर्वाचन पूर्व जनमत प्रवेश गरेका थिए ।

अहिले आएर थप नेताहरुले जनमत प्रवेश गर्ने तयारी गरेका छन् । प्रवेश गर्न लागेकाहरुमा संविधानसभा सदस्य एवम् पूर्व प्रदेश सांसद् करिमा बेगम, लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सिपु तिवारीसहितका नेता रहेका छन् ।

लोसपाका केन्द्रिय सदस्य मियाँका अनुसार बेगम, तिवारीसँगै वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २० का पूर्ववडाअध्यक्ष सन्तोष तिवारी, जसपाका पूर्व क्षेत्रीय सभापति मनोज यादव, पूर्वसचिव विनोद चौरसियाले पनि जनमतमा प्रवेश गर्न लागेका छन् । आगामी जेठ २७ गते जनमतका अध्यक्ष डा. राउतको उपस्थितिमा हुने वृहत सभाका क्रममा उनीहरुले पार्टी प्रवेश गर्ने मियाँले जानकारी दिए ।

पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले पनि जेठ २७ गतेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नाम चलेका अरु नेताहरु पनि जनमत पार्टीमा प्रवेश गर्ने बताए । उनले भने, ‘पार्टी प्रवेशका लागि जिल्लामा नाम चलेका अरुपनि नेताहरुसँग घनीभूत छलफल चलिरहेको छ, त्योदिनको पार्टी प्रवेश कार्यक्रमले पर्सामा अरु दलहरुमा ठूलै भुइंचालो ल्याउनेछ ।’

Back to top