×

साङ्केतिक तस्विर ।

वीरगञ्ज । एक महिनाअघि पूर्वमन्त्री एवम् जनमत पार्टीका नेता अब्दुल खान हस्याङ–फस्याङ गर्दै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगे। उनको साथमा सहयोगी पनि थिए । नेता खान निकै तनावमा देखिन्थे। आतुर थिए– ब्युरोका अधिकारीलाई भेट्न । केही समयपछि ब्युरोका सम्बन्धित शाखाका उच्च अधिकारी आइपुगे । उनकै कार्यकक्षमा भेट्नासाथ पूर्वमन्त्री खानले आफ्नो समस्या सुनाउन थाले। छेउमै बसेका सहयोगीले पनि उनको भोगाइ प्रस्ट्याउन सघाए ।

पूर्वमन्त्री खानको गुनासो सुनेपछि ब्युरोका अधिकारीले उनलाई आश्वस्त पार्दै केही भने । त्यसपछि बल्ल पूर्वमन्त्री खानले लामो सास ताने। सँगै रहेका सहयोगीले सम्झाउँदै भने ‘‘अब त केही होला कि। चिन्ता नगर्नुहोस् ।’’ पूर्वमन्त्री खान तनावमा रहेको कारण थियो, भाइरल अश्लील भिडियो । एक युवतीसँग उनले भिडिओ कलमा अश्लील हर्कत गरेको भिडिओ बाहिरिएपछि विभिन्न टीकाटिप्पणी भइरहेको थियो ।

नेता खानले भने भिडिओ गलत तरिकाले ‘म्यानुपुलेट’ गरेर बाहिर आएको दाबी गर्दै आएका थिए । तैपनि, धेरैले पत्याएका थिएनन् । साइबर ब्युरोमा भिडिओ सार्वजनिक गर्नेविरुद्ध कारबाही माग गर्दै उनी गएका थिए । उनको चिन्ता त्यति मात्र सीमित थिएन। ‘ठूलो रकम माग्दा नदिएपछि’ भिडिओ सोसल मिडियाका विभिन्न ग्रुपबाट फैलिन थालेको थियो ।

के थियो भाइरल भिडिओमा ?

भाइरल भिडिओमा पूर्वमन्त्री खान र एक युवतीसँग लामै कुराकानी भएको देखिन्थ्यो । भिडिओ कलकै क्रममा युवतीले कपडा खोल्दै गइन्। युवतीले बिस्तारै सीमा नाघ्दै गइन् । छाडा र उत्तेजक स्वरूप देखाउँदै थिइन् उनी । यता खान पनि उनको गतिविधिमा रमिरहेका थिए । युवतीले पूर्वमन्त्री खानलाई पनि त्यसै गर्न लगाइन् । उनी पनि बहकिँदै सहमत भए ।

कपडा खोल्दै उस्तै क्रियाकलाप गर्न थाले । कामुक मन लिएर मस्की–मस्की लामो सास फेर्दै ‘भिडिओ कल’ चलिरहेको थियो । यसैबीच मोबाइलको स्क्रिनबाट ती युवती हराइन् । खानको पृष्ठभूमिबारे जानकार ती युवतीले भोलिपल्ट मन्त्री खानको ह्वाट्एप्समा भिडिओ पठाइन् । युवतीले अघिल्लो दिनको ‘रासलीला भिडिओ’ को स्क्रिन रेकर्ड गरेकी रहिछन् ।

खानको दाबीअनुसार ठूलो रकम मागियो। नदिए भिडिओ भाइरल गर्ने चेतावनी दिइयो । उनले पैसा दिन मानेनन् । अनि भिडिओ सामाजिक सञ्जालसम्मै आएपछि खान प्रहरी कहाँ पुगेका रहेछन् ।

000

केही दिनअघि एक पाको उमेरका व्यापारीलाई एउटी युवतीले ‘फेसबुक’ मा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाइन् । मारवाडी समुदायका ती व्यापारीलाई ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने युवती भारतीय मुलकी जस्ती देखिन्थिन् । साथी बनेलगत्तैदेखि ती युवतीसँग व्यापारीको म्यासेन्जर च्याटमा ‘हाइ….हेल्लो….’ सुरु भयो । केहीबेरमा व्यक्तिगत खबर आदानप्रदान भयो । दुवै मस्किन थाले । भोलिपल्ट ‘भिडिओ कल’ मा कुरा भयो। उमेरले पाको भए पनि ती व्यापारी युवतीसँग ‘फेसबुक’ मै दिवाना बनिसकेका थिए ।

भिडिओ कलमै रमाइलो गफ हुँदै थियो । युवतीले आफ्ना सम्पूर्ण वस्त्र खोल्न थालिन् । शरीरका सम्पूर्ण वस्त्र उतारिन् । स्त्रीका सबै कुरा भिडिओमा देखेपछि व्यापारीले मन थाम्न सकेनन् । युवतीलाई नाङ्गै देखेर उत्तेजित भए । उनी पनि युवतीझैँ भिडिओ कलमा प्रस्तुत भए । उनी त्यतिमै रोकिएनन् । अनुहार रातोपिरो पार्दै केही मिनेट छाडा गफसमेत गर्न थाले । केही बेरमा भिडियो कल काटियो ।

व्यापारी फेरि भिडिओ कल गर्न खोज्दै थिए । म्यासेन्जरमा ‘टुंङ्’ घण्टी बज्यो । म्यासेज हेर्दा चकित परे । केही बेरअघि नग्न भएर गरेको संवादको भिडिओ रहेछ । केहीबेरमै धम्की आयो– ‘पैसा पठाऊ, नत्र भिडिओ भाइरल हुनेछ ।’ त्यसपछि ती व्यापारीलाई फसाद आइलाग्यो– ‘अब के गर्ने ?’ भिडिओ सार्वजनिक हुनबाट रोक्न पैसाको ‘बार्गेनिङ’ गर्न थाले ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भयो भने पारिवारिक सम्बन्ध र सामाजिक प्रतिष्ठामा ठूलै आँच आउने खतरा देखे । उनले केही रकम पठाएर भिडिओ सार्वजनिक नगर्न आग्रह गरे । त्यतिले ती युवती नपुग्नै भन्दै थप मागेपछि व्यापारी साइबर ब्युरो गुहार्न बाध्य भए ।

000

गत भदौमा यस्तै समस्यामा फसे, कांग्रेसका एक नेता । भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन न्यौपानेको नग्न भिडिओ सामाजिक सञ्जालमा छरपस्ट भयो । उनको घटना पनि यही प्रकृतिकै थियो । उनले साइबर ब्युरोमा अनुसन्धानका लागि निवेदन दिए । तैपनि, भिडिओ सार्वजनिक गर्ने व्यक्ति पत्ता लागेको छैन ।

साइबर ब्युरोमा उजुरीको चाङ

पूर्वमन्त्री खान, कांग्रेस नेता र व्यापारीको भोगाइ प्रतिनिधि घटना मात्र हुन् । ‘साइबर ब्युरो’ मा पछिल्लो एक वर्षयता एक सयभन्दा बढी उजुरी परेको तथ्यांक छ । ती उजुरीमा यस्तै प्रकृतिका घटना उल्लेख छन् । ती मध्ये आधा जति समाधान भइसकेको छ । बाँकी समाधानकै क्रममा छन् ।

सामाजिक सञ्जाललाई माध्यम बनाएर ‘ब्ल्याक मेल’ गर्ने गिरोह पछिल्लो समय धेरै नै सक्रिय छन् । विदेशमा बसेर समेत कतिपयले यस्तो धन्दा चलाइरहेका छन् । अहिले राजधानी काठमाडौं उपत्यकासहित देशका सहरमा बढी सक्रियता पाइएको छ । यस्ताको मुख्य निशाना नेतादेखि व्यापारी हुने गरेको उजुरीमा देखिन्छ । ब्युरोमा कार्यरत अधिकारीका अनुसार, ‘भल्गर’ (नग्न) भिडिओको सिकार प्रतिष्ठित नेतादेखि व्यापारी र सामाजिक अभियन्तासम्म भइसकेका छन् ।

‘‘यस्तो गिरोहको फन्दामा परेपछि अप्ठेरो हुन्छ । सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ । सामाजिक सञ्जालमा नचिनेका मान्छे र जो पायो त्यहीसँग जोडिनु हुँदैन । नचाहिँदो कुराकानी र सामाजिक व्यवहार विपरितका व्यवहार गर्न हुँदैन,’’ ब्युरोका अधिकारीहरू भन्छन् ।

ब्युरोले सचेत गराएको सूचनाको बेवास्ता

यसलाई रोक्न साइबर ब्युरोले विभिन्न चेतनाका सूचनामूलक सन्देश दिँदै आएको छ । यस्तो घटना पुन नहोस् भन्नका लागि साइबर ब्युरोले पटक पटक सूचना निकालेर सचेत समेत गराउँदै आएको छ । तैपनि बेवास्ता गर्दा फन्दामा परिरहेका छन् ।

‘‘पछिल्लो समय यस्ता घटनाबाट धेरैजना पीडित भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सजग नहुने हो भने यो समस्या झनै बढ्ने खतरा छ । “हामीले सचेत गराउँदै आएका छौँ । यसलाई गम्भीर रुपमा लिए समस्यामा फसिँदैन ।’’ ब्युरोका प्रवक्ता पशुपति कुमार राय भन्छन् ।

युवतीलाई अघि सारेर सामाजिक सञ्जालमा कामोत्तेजना र अमर्यादित भिडिओ पठाउने अनि पछि त्यसैलाई माध्यम बनाएर मोटो रकम असुल्ने अपराध अहिले बढेको छ । मागेबमोजिमको पैसा नदिए चरित्र हत्या गरिदिने गिरोहका कारण धेरैले दुःख पाएको उनले बताए ।

साइबर ठगीका वार्षिक हजारौँ उजुरी

साइबर ब्युरोले दिएको तथ्याकंअनुसार आव ७७\७८ मा ३९०६ साइबर क्राइमसम्बन्धी घटनाका निवेदन दर्ता भएका थियो । ७८/७९ मा ४६८६ उजुरी दर्ता भए । ७९/८० को १० महिनामा ५ हजार पाँचसय भन्दा बढी निवेदन दर्ता भएका छन् । धेरैजसो निवेदन सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दा तथा भिडियो कल उठाउँदा ठगिएको भन्ने खालका छन् ।

ब्युरोका प्रवक्ता रायका अनुसार साइबर आक्रमणको यो तरिकालाई फिसिङ भनिन्छ । फिसिङ आक्रमणमा सहभागी गिरोहले व्यक्ति तथा संस्था लगायतका निकायको लगइन विवरण, क्रेडिटकार्ड नम्बर तथा व्यक्तिगत पहिचानमूलक जानकारीमा पहुँच पुर्‍याउने गर्छन् ।

यस्ता गिरोहहरूको टार्गेटमा व्यक्तिहरूको आर्थिक कारोबार हुने साइट तथा एपहरू पर्छन् ।

Back to top