×

वीरगञ्ज । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टीले बाहिरिने सङ्केत गरेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा आफूहरुसँग छलफलसमेत नगरेको आरोप लगाउँदै माओवादी केन्द्रले सरकारबाट बाहिरने बारे छलफल सुरु गरेको स्रोतको दावी छ ।

माओवादी स्रोतकाअनुसार अहिले जनकपुरमा माओवादी केन्द्रको संसदीय दलको बैठक चलिरहेको छ । बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने बारे निर्णय गर्ने स्रोतले बतायो । 

त्यसैगरी पूर्व सहमति विपरित जनमत पार्टीलाई दिइएको दुई मन्त्रालयमध्ये एउटा खोसीएपछि जनमतले पनि सरकारबाट छलफल सुरु गरेको छ । मङ्गलबार मुख्यमन्त्री सरोजकुमार यादवले जनमतले नेतृत्व गर्दै आएको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेका छन् । कृषि मन्त्रालयको नेतृत्व गर्ने बसन्त कुशवाहलाई विना विभागीय मन्त्री बनाइएको छ ।

मन्त्रालय खोसिएपछि सरकारबाट बाहिरिने विषयमा छलफल गर्न जनमतका अध्यक्ष डा. सिके राउतले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चलेको छ । पूर्व सहमति अनुरुप मन्त्रालय नपाएको भन्दै लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने छलफल सुरु गरेको हो । यद्यपि यसको आधिकारिक निर्णय आइसकेको छैन ।

Back to top