वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
मुद्दा अदालतमा विचाराधीन रहेकोले त्रिभूवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको भन्सार क्षेत्र र रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको सडक फराकिलो गर्ने विषय अहिले टुङ्गो नलागिसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सीडीई राकेशकुमार यादवले बताए ।
‘हेटौंडा बजारको सडक विस्तार गर्ने विषयमा आदेश आएको छ । वीरगञ्जको मुद्दा अहिलेपनि सर्वोच्चमा विचाराधीन छ, अहिलेसम्म केहि टुङ्गो लागेको छैन,’ यादवले यात्राडेलीलाई भने, ‘ख्वै कुन पत्रकारले के लेखिदिएको छ । हिजोदेखि स्पष्टिकरण दिँदादिँदै म हैरान छु ।’
वीरगञ्जबाट प्रकाशित केहि अनलाइन न्यूज पोर्टलले वीरगञ्जको मुख्य सडक विस्तारको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको भन्दै बिहिबार समाचार लेखेपछि अन्योल सृजना भएको थियो ।
सर्वोच्च अदालतमा वीरगञ्जको सडक फराकिलो गर्ने विषयमा अन्तिम सुनुवाई जेठ ३१ गते रहेको यादवले बताए । ‘वीरगञ्जको सडकका बारेमा अहिले केहिपनि भन्न सकिँदैन । जेठ ३१ गते सुनुवाई छ, जे फैसला आउँछ हामीपनि सोहीअनुसार काम गर्छौं,’ यादवले स्पष्ट पारे ।
यद्यपि बागमती प्रदेशको राजधानी हेटौंडा बजारको सडक भने २५ गज बिस्तार गर्न अदालतले अनुमति दिएको यादवले जानकारी गराए । उनले सडकको मध्य बिन्दूबाट दुवै तर्फ २५/२५ गज सडक बिस्तार गर्न सर्वोच्चले फैसला सुनाएको बताए । ‘हेटौंडाको रातोमाटेदेखि राप्ति रोडसम्म लगभग ६ किलोमिटर २५/२५ गज सडक फराकिलो गर्ने हामीले तयारी गरेका छौँ,’ उनले यात्राडेलीलाई भने, ‘वीरगञ्जको पक्षमा फैसला आएपछि त्यहाँको सडकपनि फराकिलो गर्छौं ।’