×

वीरगञ्ज । छिमेकी राष्ट्र भारतको विहार राज्यमा पर्ने घोडासहन, भेलाही, रक्सौलस्थित महादेव पचपोखरीलगायतका क्षेत्रमा पछिल्लो समय डकैती र लुटपाटको घटना बढ्दै गएको छ । 

नेपालको खुल्ला सिमासँग जोडिएको यस क्षेत्रमा सक्रिय भएको चड्डी बानियान ग्याङले रातीको समय घरघरमा प्रवेश गरि बन्दुर देखाएर लुटपाट गर्ने गरेको छ । डाँकाहरु हाफ पाइन्ट र गञ्जी लगाई समूह बनाएर आउने गरेकोले उनीहरुको नाम स्थानियले चड्डी बानियान ग्याङ राखिदिएका हुन् । उनीहरुले हालसम्म पाँच करोड भन्दापनिबढी बराबरको नगद र विभिन्न सामग्री लुटपाट गरेको बुझिएको छ ।

ग्याङले पछिल्लो पटक बुधबार राती लगभग १ बजेको भेलाहीका कपडा व्यवसायी धनञ्जय गुप्ताको घरमा लुटपाट गरेको छ । ३० देखि ३५ जनाको समूहमा आएका डाँकाहरुले परिवारका सदस्यलाई बन्धक बनाई लुटपाट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ग्याँस कटरले ढोका फोडेर घर भित्र प्रवेश गरेका डाँकाहरूले करीब १५ लाख नगद र ३० लाखको गरगहनालगायतका सामग्री गरी कूल ४५ लाख रुपैयाँ बारबारको लुटपाट गरेको गुप्ताले बताए । गुप्ताकाअनुसार डाँकाहरुसँग घेरेलुसहित विभिन्न किसिमको आधुनिक हातहतियारपनि थियो ।

करीब ४० मिनेटसम्म लुटपाट गरेका डाँकाहरूको भाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनसँग भिडन्तसमेत भयो । यद्यपि प्रहरीमाथि बम प्रहार गर्दै उनीहरु भाग सफल भए । डाँकाहरु नेपाल प्रवेश गरेको हुनसक्ने भारतीय प्रहरीको आशङ्का छ । उनीहरुको खोजी गर्न भारतीय पक्षले नेपालको सुरक्षा निकायसँग समन्वय पनि गरिरहेको छ । 

डाँकाहरु भागेर नेपाल आएको शङ्काबीच पर्साको ग्रामिण भेगमा पर्ने विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थित इटियाही गाउँस्थित विशेश्वर साह तेलीको खाली खेतबाट शुक्रबार दिउँसो साढे ३ बजेको करिबमा अलपत्र छाडिएको अवस्थामा विभिन्न बन्दुकमा प्रयोग हुने कार्तुस र केही सामग्री बरामद भएको छ । सामग्री बरामद भएको ठाउँ भारतसँगको सिमाबाट लगभग ८ सय मिटर भित्र पर्छ । स्रोतकाअनुसार बरामद सामग्रीमध्ये केही भेलाहीका व्यवसायी धनञ्जय गुप्ताको हो । त्यहाँ धनञ्जयको नाम लेखिएको राशन कार्डको फोटोकपी, उनको र पत्नी सुनीता देवीको संयुक्त नाममा रहेको ग्रामिण बैंकको पासबूक र लुटिएका गहनाका केही खाली डब्बा बरामद भएको छ । कार्तुसपनि सोही डकैतीमा प्रयोग गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शुक्रबार खेतमा काम गरिरहेका कृषकले कार्तुस देखेपछि प्रहरीलाई खबर गरेका थिए । खेतबाट सशस्त्र प्रहरीले राइफलको १२ राउण्ड गोली, त्यही राइफलको १७ राउण्ड गोलीको खोका, गोली राख्ने बिन्दुली २ थान, रिभलभरको गोली १ थान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साकाअनुसार प्रहरीले कार्तुससहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा समेत बरामद गरिएको थियो । बरामद कार्तुस र सामान सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय पोखरीयको जिम्मा लगाएको छ ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले कार्तुसलगयातका सामग्री बरामद भएको पुष्टि गरे । उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘हतियार बरामद भएको होइन, हतियारमा प्रयोग गरिने कार्तुसलगायत गहनाका केही डब्बा बरामद भएका छन् । हामी अनुसन्धान गर्दैछौं ।’ भारतमा लुटपाट गरि नेपाल भागेर आउने स्वाभाविक भएको भन्दै उनले भारतीय प्रहरीले आफूहरुसँग समन्वय पनि गरिरहेको बताए । 

यता लुटपाट र डकैतीको घटना बढेसँगै सिमावर्ती भारतीय क्षेत्रका स्थानीय त्रासित छन् । हालसम्म चड्डी बानियान ग्याङको एकजना सदस्यपनि पक्राउ गर्न नसकेपछि प्रहरी र प्रशासन असक्षम भएको आरोप लगाउँदै स्थानीय राती समूह बनाएर जाग्राम बसिरहेका छन् । बुधबार पछि कुनैपति लुटपाटको घटना भएको छैन ।

Back to top