×

वीरगञ्ज, १९ फागुन ।  पछिल्लो समय सामाजिक सञ्जाल आवाज उठान गर्ने सशक्त माध्यम बनेको छ । वीरगञ्ज महानगरपालिकाले गरेका गतिविधिका बारेमा पनि बेला बेला सामाजिक सञ्जालमा चर्चा नहुने गरेको भने हैन । कहिलै आलोचना गर्छन् भने कहिले प्रशंसा । गत पुष १७ गतेदेखि वीरगञ्ज महानगरले सुरु गरेको फोहोर गर्नेलाई जरिवाना गर्ने अभियानको पनि यतिबेला सामाजिक सञ्जालमार्फत सह्राना भइरहेको छ । जरिवाना गर्ने अभियानकै प्रभावकारीता स्वरुप अहिले महानगरमा फोहोर कमै मात्र देख्न पाइन्छ । 

मुख्य सडक क्षेत्रमा फोहोर देख्नै पाइँदैन भने गल्लीहरुमा पनि सरसफाईलाई प्रभावकारी बनाउन महानगरले प्रयास गरीरहेको छ । पत्रकार उमेश दुवे सामाजिक सञ्जालमा लेख्छन्, ‘सहीलाई सही भन्नैपर्छ, वीरगञ्ज महानगरलाई स्वच्छ वीरगञ्ज बनाउन मेयर राजेशमान सिंहले चालेको कदम सह्रानीय छ ।’ 

वीरगञ्जकै युवा शेखर अग्रवालले पनि परिवर्तनको आभाष भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वीरगञ्जमा परिवर्तनको आभाष हुँदै, आगामी दिनमा यो भन्दा धेरै परिवर्तन हुने आशा छ । हामी वीरगञ्जबासीलाई धन्यवाद ।’

पर्साका पत्रकार बिन्दुभुषण साहले पनि वीरगञ्जबासीले परिर्तनको अनुभुती गरीरहेको बताएका छन् । विगतमा देखिने फोहोरको डंगुर अहिले नदेखिने बताउँदै उनले वीरगञ्ज सुन्दर र सफा बन्दै गइरहेकोमा खुशी व्यक्त गरेका छन् । वीरगञ्ज महानगरको मुहार फेरिदै गरेको साहको भनाई छ । स्थानीय तहको निर्वाचनपछि वीरगञ्ज महानगरको जिम्मेवारी राजेशमान सिंहले सम्हालेसँगै सरसफाईमा कायापलट भएको बुझाई साहको छ । वीरगञ्जको त्रिभुवन राजपथअन्र्तगत घण्टाघरदेखि पावरहाउसतर्फ जाँदै गरेको साढे १ मिनेटको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘वीरगञ्ज महानगरले सरसफाईमा मुहार फेरेको छ । अहिले महानगर क्षेत्र सफा र सुन्दर देखिएको छ । गर्व गर्न लायकको वीरगञ्ज बन्दै गइरहेको छ, मेयर राजेशमान सिंहसहित उहाँको टिमलाई धेरै धेरै धन्यवाद ।’ उनले अगाडी भनेका छन्, ‘बाटोको छेउछाउमा विगतमा धेरै फोहोर देखिने गरेको थियो । तर अहिले एकदम सफा र सुन्दर देखिन्छ । सेल्फि स्पट जस्तै वीरगञ्ज बनेको छ, हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज बन्दै गइरहेको छ, आगामी दिनमा पनि अझै राम्रो काम हुनेछ भन्ने विश्वास छ ।’ 

नेपाली कांग्रेसका युवा नेता राकेश यादव मितवा पनि महानगरको कामसँग सन्तुष्ट छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै महानगरले आजको दिनसम्म आइपुग्दा गरेका हरेक प्रयासहरु सन्तोषजनक देखिएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘वीरगञ्ज महानगरले गर्ने गरेका प्रयासहरु आजको दिनसम्म सन्तोषजनक छन्, अहिले पनि धेरै गर्नुपर्ने छ ।’ 

मितवाको पोस्टमा ग्यालेक्सी फोर के टेलिभिजन पर्साका संवाददाता जियालाल साहले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘एकदम राम्रो दाई, आफ्नो पार्टी बाहेकका मेयरले गरेका कामको पहिलो पटक सही मुल्यांकन गर्नुभएको छ ।’ 

डा. राजेश साहले पनि महानगरको कामको सह्राना गरेका छन् । उनले सामाजिक सञ्जला (फेसबुक) मा घण्टाघर र गहवामाई मन्दिरको फोटो पोस्ट गर्दै महानगरका प्रमुख राजेशमान सिंहलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले लेखेका छन्, ‘आज धेरै दिनपछि फुर्सद पाएर बिहान हिँड्दा महानगरका थुप्रै परिवर्तन देख्न पाउँदा खुशीले मन गदगद भएको छ । यसका लागि महानगर प्रमुखलाई धेरै धेरै धन्यवाद ।’ 

यसबाहेक अरु महानगरबासीसँगै बाहिरका व्यक्तिहरुले पनि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरीरहेका छन् । जथाभावी फोहोर फाल्नेहरुलाई जरिवाना गर्ने अभियानको सह्राना गर्दै अधिकांशले यसलाई अरु स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने सुझावसमेत दिइरहेका छन् । 
 

Back to top