वीरगञ्ज, १३ फागुन । न्यायसँग जोडिएका धेरै विषय आफ्नो काबुभन्दा बाहिर रहेको कामु प्रधानन्यायाधीश हरिक्ष्ण कार्कीले बताएका छन् ।
वीरगंजमा शुक्रवारदेखि शुरू भएको कानून व्यवसायी महिलाहरूको तीन दिने भेलाको उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले जनशक्ति अभावका बावजूद न्यायप्रणालीमा सुधार भएको दाबी गरे ।
उनले न्यायालयमा न्याय प्रक्रिया ढिलो हुने कारणले आलोचना भइरहेको चर्चा गर्दै कानूनी जटिलताले जनशक्ति अभाव पूरा हुन नसकिरहेको बताए । उच्च अदालतहरूमा अहिले पूर्ण दरबन्दीमध्ये एक चौथाइ न्यायाधीश रिक्त रहेको अवस्थामा केही नीतिगत परिवर्तन गरेर समयमैं इजलास बस्ने र चिया समयबाहेक अन्तिम समयसम्म काम गर्ने कार्यले अहिले मुद्दाको चाप घटेको बताए ।
उनले सर्वाेच्च अदालतमा करीब तीस हजारवटा मुद्दा दर्ता रहेका र दैनिक मुद्दाहरू थपिने क्रम जारी रहेको बताए । उनले मुद्दाको पहिचान गरी पाँच वर्षभन्दा बढी समयका मुद्दालाई १५ दिनको तारिख दिएर त्यसपछिको १५ दिनमा मुद्दाको पेशी तोकेर मुद्दाको चाप घटाउँदै आएको बताए । उनले न्यायाधीश नियुक्तिमा हुन गएको ढिलाइले मुद्दाको सुनवाइ ढिला भइरहेकामा नियुक्ति प्रक्रियालाई पनि अगाडि बढाएको बताए ।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले समाज परिवर्तनको जिम्मेवारी कानून व्यवसायीहरूको काँधमा आएको बताए । उनले कानून व्यवसायीहरूले संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यपालिका तथा व्यवस्थापिकाले न्यायालयलाई हेप्ने प्रवृत्ति नहटेसम्म न्यायप्रणालीमा सुधार नआउने उनले बताए ।
सर्वोच्य आदलतका न्यायाधीश सपनामल्ल प्रधानले कानून व्यवसायी महिलाहरू आफैंमा क्षमतावान् रहेको बताइन् । आफूलाई क्षमतावान् बनाए मौका खोज्दै आउँछ भन्दै महिला कानून व्यवसायीहरूलाई क्षमतावान् बनेर देखाउन सुझाइन् । उनले क्षमतावान् महिला कानून व्यवसायीहरू उच्च ओहदासम्म पुगेको बताइन् । उनले तीन दशकअघिसम्म महिला कानून व्यवसायीहरूको सङ्ख्यात्मक सहभागिता शून्य बराबर रहेको तर अहिले आएर उनीहरूको सङ्ख्या करीब दुई हजार ४०० पुगिसकेको बताइन् । उनले कानून व्यवसायीमा महिला सहभागिता बढेसँगै न्यायालयको गरिमा पनि बढेको बताइन् । उनले कानून विषयका कक्षामा महिलाहरूको सङ्ख्यात्मक सहभागिता बढी देखिएको तर पेशा अङ्गालेर बसेका महिला कानून व्यवसायीहरूको सङ्ख्या तुलनात्मकरूपमा बढ्न नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले महिला कानून व्यवसायीहरूलाई पेशामा टिकाइराख्ने वातावरण बनाउनमा बारको भूमिका प्रभावकारी हुने बताइन् ।
बारकी उपाध्यक्ष तथा महिला समितिकी अध्यक्ष आशा राईको अध्यक्षतामा भएको कार्यक्रममा महान्याधिवक्ता डा दीनमणि पोखरेल, उपाध्यक्ष सुधीर कर्ण, बारका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठ, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश शान्तासुवेदी सेढाईं, अधिवक्ता वीरेन्द्र ठाकुर, गीता पाठक, शर्मिला थापा विष्ट, शुभम् लोप्चन, जुली कर्णलगायतले भेलाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण किरणकुमारी साहले गरेकी थिइन् ।
कानून व्यवसायीहरूको भेलामा नागरिकताको विषय प्रवेश गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले मन्तव्यको क्रममा लामो समयदेखि सर्वोच्च अदालतमा रहेको नागरिकता तथा गैरआवासीय नागरिकता विधेयक टुङ्गो लगाउनु अहिलेको आवश्यकता रहेको प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएका थिए । संसद्बाट नागरिकता तथा गैरआवासीय नागरिकता विधेयक पास नहुँदा लाखौं नागरिक गैरनागरिक बनेका बताए । अहिले करीब पाँच लाख युवा अनागरिक रहेको उनले बताए ।
महिला कानून व्यवसायीहरूको भेलामा नागरिकताको विषय प्रवेश गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले मन्तव्यको क्रममा लामो समयदेखि सर्वोच्च अदालतमा रहेको नागरिकता तथा गैरआवासीय नागरिकता विधेयक टुङ्गो लगाउनु अहिलेको आवश्यकता रहेको प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएका थिए । संसद्बाट नागरिकता तथा गैरआवासीय नागरिकता विधेयक पास नहुँदा लाखौं नागरिक गैरनागरिक बनेका बताए । अहिले करीब पाँच लाख युवा अनागरिक रहेको उनले बताए । प्रतीक दैनिक बाट