×

वीरगञ्ज,  १३ पुष । वीरगञ्ज ३१ बेलवाकी बिमला मिजार २ सन्तानकी आमा हुन् । एक छोरा र एक छोरीलाई जन्म दिईसकेपछि उनले बितेको बुधवार स्थायी बन्ध्याकरण गरेकी छिन् । 

वीरगञ्ज ३१ कै ३४ वर्षीय लुपमान मियाँ अन्सारीले पनि श्रीमतीको बन्ध्याकरण गराएका छन् । लुपमानकी श्रीमतीले २८ वर्षकै उमेरमा ३ छोरा र २ छोरीको जन्म दिएर बुधबार मिनिल्याप मार्फत स्थायी बन्ध्याकरण गरेकी हुन् । ५ सन्तानमध्ये २ सन्तानको शल्यक्रिया मार्फत जन्म भएको थियो । ३ जनाको भने साधारण तवरबाटै जन्म भएको उनी बताउँछिन् । ५ सन्तानको जन्म पछि सन्तानको रहर पुरा भएकाले यो दम्पत्तीले सल्लाहमै स्थायी बन्ध्याकरण रोजेको हो ।  

तर अन्सारीले आफूले बन्ध्याकरण नगरी श्रीमतीको बन्ध्याकरण गराए । ‘मैले त दुबै मध्ये एक जनाले गरौँ भनेकै हो, श्रीमतीले नै मै गर्छु भनेर अघि सरेपछि उनलाई लिएर शिविरमा आएको हुँ,’ अन्सारी भन्छन् । 

उनको श्रीमतीले पनि श्रीमान् बाहिर काम गर्नु पर्ने भएकाले बन्ध्याकरण आफूले गरेको बताउँछिन् । ‘हामी महिला त घरमै बस्छौँ, बाहिरको काम गर्ने, खर्चको जोहो गर्ने मान्छेले बन्ध्याकरण गर्दा भोली कुनै अप्ठ्यारो आए कमाई कसले गर्छ ? अनि घर कसरी चल्छ ?,’ उनी भन्छिन्, त्यसैले म नै बन्ध्याकरण गर्न अघि सरेको हुँ ।’  

उनी मात्रै होइन वीरगञ्ज ३२ टेढाकी नगिना खातुन पनि यस्तै व्यथा सुनाउँछिन् । ‘पुरूष आफैँले म बन्ध्याकरण गर्छु भनेर भन्दैनन्, घरबाट बाहिर गएर काम गर्ने हुँदा श्रीमानलाई अप्ठेरो नहोस भनेर हामी आफैँ बन्ध्याकरण गराउन आएका हौँ,’ उनी भन्छिन्, । पुरुषको पनि बन्ध्याकरण गर्न मिल्छ भन्ने कुरा हामीलाई जानकारी नै छैन ।  

परिवार नियोजन गर्ने सोच बनाएको २ वर्ष वित्यो । गाउँबाट वीरगञ्ज गएर परिवार नियोजन गराउन न त खर्चको जोहो नै गर्न सकियो न त कामले समय नै मिल्यो । अहिले गाउँ नजिकै शिविर चलेपछि बल्ल परिवार नियोजन गर्ने अवसर जुरेको खातुन बताउँछिन् । 

शिविरसम्म आउजाउ गर्ने व्यवस्था महानगरले मिलाएको र त्यसैमा आउजाउ गर्न पाउँदा बजार पुगेर गर्नु पर्ने खर्च जोगिएकोमा ४२ वर्षीय नगिना खुशी देखिन्थिन् । 

बन्ध्याकरणकै लागि बजारको अस्पताल धाउँदा भाडा, खाजासहित अस्पतालमा लाइन लाग्नुपर्ने, पुर्जी काट्नुपर्ने झन्झटबाट यहाँका सेवाग्राही मुक्त भएका छन् । अझ महानगरले न्यानो कपडासमेत उपलब्ध गराएको हुँदा अहिले बढ्दै गरेको चिसो मौसममा काम लाग्ने भन्दै बन्ध्याकरण गर्न आएकाहरु खुशी देखिन्थे ।  

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा बिमला, नगिनासँगै ३ दिनमा ९५ जना महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । ९५ जना महिलाको परिवार नियोजन गर्दा पनि पुरुष संख्या भने शुन्य रह्यो ।  

लालपर्सा स्वास्थ्य चौकीकी सिनियर अनमी किरण सिंह पुरुषले पनि बन्ध्याकरण गर्नुपर्छ भन्ने मानसिकताको विकास नहुँदा र यस भेगमा अभ्यासमा नआएकाले अहिले शिविर चल्दा पुरुषको उपस्थिति शुन्य हुन पुगेको बताउँछिन् । 

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवका अनुसार बन्ध्याकरण पुरुषले पनि गर्दा केही फरक पर्दैन भन्ने किसिमको मानसिकता अझै यस क्षेत्रमा विकास भइसकेको छैन । जनचेतनाको कमी भएको बताउँदै उनले सचेतना फैलाउनुपर्नेमा जोड दिइन् । 

महिलाको तुलनामा पुरुषको बन्ध्याकरण सहज र चाँडै ठीक हुने हुन्छ । अर्का स्वास्थ्यकर्मी  अनिशकान्त कुशवाहा भन्छन्, तर पनि पुरुषको संख्या हेर्दा चिन्ता लाग्दो छ । परिवार नियोजन कार्यक्रम संचालन भएको कयौँ वर्ष वित्यो । तर यसमा पुरुषलाई समान सहभागिता जनाउने अवस्था ल्याउन नसक्नु स्वास्थ्य क्षेत्रको लागि ठूलो चुनौती रहेको कुशवाहा बताउँछन् ।  

‘यो हाम्रो स्वास्थ्य क्षेत्रकै लागि चुनौति हो, वर्षौदेखि यस्ता अभियान चलिरहेको छ, तर पनि गाउँघरमा बन्ध्याकरण गर्ने पुरुषहरुको संख्या जहिल्यै शुन्य हुन्छ ।’ विगतमा पनि पुरुषको संख्या यस्तै शुन्य रहेको उनको अनुभव छ ।  

जिल्ला स्वास्थ्य कार्यालय पर्साको आयोजना र वीरगञ्ज महानगरपालिकाको संयोजनमा सोमबारदेखि निःशूल्क बन्ध्याकरण शिविर चलिरहेको छ । पहिलो ३ दिन महानगरको वडा नम्वर ३० लालपर्सा स्वास्थ्य चौकीमा संचालन भएको शिविर त्यसपछि वडा नम्वर २५ श्रीसिया स्वास्थ्य चौकीमा ३ दिन संचालन भयो ।

महानगरले वडा नम्वर १७ देखि ३२ सम्मका वडाका नागरिकको सहजताका लागि २ ठाउँमा शिविर राखेर अभियान चलाएको हो । यो शिविरबाट १६ वटा वडाका सन्तानको रहर पुगेका दम्पत्तिहरु लाभान्वित भएका छन् ।

शिविरमा महिलाको लागि मिनिल्याप र पुरुषको लागि भ्यासेक्टोमी प्रविधिबाट स्थायी बन्ध्याकरण गराइने गरेको वीरगञ्ज महानगरको स्वास्थ्य महाशाखाकी ईन्दिरा लोहनीले जानकारी दिइन् ।   
 

Back to top