×

वीरगञ्ज, १ पुष । वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ सयभन्दा बढी कर्मचारीको समयावधी नथपेपछि ती कर्मचारीहरु हटेका छन् । 

महानगरले बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकी/केन्द्रहरुमा दैनिक ज्यालादारीमा कार्यरत सबैको समयावधी नथपेको जनाएको छ ।  

लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरतहरुको समयावधी नथपिएको महानगरका प्रशासन प्रमुख रामकुमार कुशवाहाले बताए । 

महानगरपालिकाले यो समयमा ‘मेयर घरदैलो स्वास्थ्य शिविर’, ‘वडालाई डिजिटल बनाउने अभियान’, ‘बृक्षारोपण’ लगायत विभिन्न अभियान संचालन गरेको थियो । ती अभियानलाई लक्षित गर्दै महानगरले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको थियो । ‘मेयर घरदैलो स्वास्थ्य शिविर’ जारी रहे पनि अहिले अन्य अभियानको काम सकिएसँगै दैनिक ज्यालादारीका कर्मचारीहरुको पनि समययावधी थप नगरीएको प्रशासन प्रमुख कुशवाहले बताए ।  

विभिन्न समयमा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारी महानगरपालिकाको मंसिर २६ गतेको निर्णय अनुसार पुष १ गतेदेखि लागु हुने गरी हटेका हुन् ।

प्रशासन प्रमुख कुशवाहाले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताए ।

महानगरका मेयर राजेशमान सिंहले महानगरले समय समयमा अभियान सञ्चालन गर्ने गरेको र त्यसका लागि थप जनशक्ति चाहिने हुँदा नियुक्त भएका दैनिक ज्यालादारीका कर्मचारी अभियान सकिएसँगै हटेको बताए । आउने दिनमा महानगरलाई चाहिएका बखत दैनिक ज्यालादारीमा फेरि कर्मचारी राख्न सकिने पनि उनले बताए ।  

‘निश्चित काम र अभियानका लागि भर्ना गरेका थियौँ, ती अभियान अहिले सकिएको छ,’ मेयर सिंहले भने, ‘आउँदा दिनमा फेरि अन्य अभियान र कार्यक्रम सञ्चालन गर्दा दैनिक ज्यालादारीमा कर्मचारी राख्छौँ । अहिले न्युक्त भएका कर्मचारीहरुलाई विनाकाम पालेर महानगरलाई आर्थिक भार पार्नु भन्दा हामीले हटाउने निर्णय गरेका हौँ ।’

निर्धारित काम सकिएपछि महानगरको व्ययभार कम गर्न ती कर्मचारीको समयावधी नथपिएको पनि महानगरले जनाएको छ ।

Back to top