वीरगञ्ज, ११ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, २०१९ को प्रत्यक्ष तर्फबाट लगभग सम्पूर्ण क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म ९० लाख भन्दा बढी समानुपातिक मत गनिएको छ ।
गणना गरिएको मतमध्ये सबैभन्दा धेरै २४ लाख ७९ हजार ९ सय मत ल्याएर नेकपा एमाले पहिलो दल बनेको छ । त्यस्तै २३ लाख ५७ हजार ८ सय १७ मत ल्याएर नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
पछिल्लो पटक चौथो स्थानमा रहेको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई पछार्दै तेस्रो स्थानमा पुग्न सफल भएको छ । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ३७ हजार ८ सय ४३ मत ल्याएर माओवादीलाई पछाडि छोडेको हो । माओवादीले १० लाख ३७ हजार ८ सय ४३ मत मात्र ल्याएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ५ सय ८९ मत ल्याएको छ भने छैठो स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८९ मत ल्याएको छ ।
सातौँ स्थानमा भने सिके राउत नेतृत्वको जनमत पार्टी रहेको छ । जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९९ मत ल्याउँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) २ लाख ४२ हजार १ सय ८४ मत ल्याउँदै जनमत भन्दा पनि पछाडि परेको छ ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७ सय ७८ मत ल्याएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले हालसम्म १ लाख २४ हजार १६ मत मात्र प्राप्त गरेको छ ।