×

वीरगञ्ज, ११ मङ्सिर । पर्सामा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ को अन्तिम मतपरिणाम आइसकेको छ । मतपरिणाम अनुसार जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

२०७४ को निर्वाचनमा दुई प्रदेशसभा सदस्यमा मात्रै सिमित भएको कांग्रेस यसपटक पर्सामा पहिलो पार्टीको रुपमा उदाएको छ । जिल्लामा प्रतिनिधि र प्रदेशीसभा गरि प्रत्यक्ष तर्फ रहेको १२ सिटमध्ये ५ मा जित निकाल्दै कांग्रेस पहिलो पार्टी बनेको हो । समानुपातिकको प्रतिनिधि र प्रदेशसभा तर्फ पनि नेपाली कांग्रेसले नै सबैभन्दा धेरै मत ल्याएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व गर्ने कांग्रेसले पर्साको ७ सिटमा मात्रै आफ्नो उम्मेदवार खडा गरेको थियो ।

पर्साको क्षेत्र नम्बर २ मा र ४ मा प्रतिनिधिसभा जितेको कांग्रेसले प्रदेश सभातर्फ क्षेत्र नम्बर २ (क), ३ (ख) र ४ (क) मा पनि जित हाँसिल गरेको छ । समानुपातिकको प्रतिनिधिसभा तर्फ कांग्रेसले ६६ हजार ६ सय ७५ मत ल्याएको छ भने प्रदेशसभा तर्फ ६३ हजार ८ सय ६१ मत ल्याएको छ । 

त्यस्तै प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ गरि तिन सिट जित्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) दोस्रो दल बनेको छ । जसपाले प्रतिनिधिसभा तर्फ पर्सा-१ र प्रदेशसभा तर्फ क्षेत्र १ (ख) र ४ (ख) मा जित हाँसिल गरेको छ । नेकपा एमालेसँगको गठबन्धनका कारण ६ स्थानमा उम्मेदवार खडा गरेको जसपाले ३ ठाउँमा मात्र जित निकालेको हो । २०७४ को निर्वाचनमा जसपा (तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल) पर्सामा प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ५ गरि ८ सिट जितेर पहिलो दल बनेको थियो । 

समानुपातिक तर्फ भने जसपाले प्रदेशसभामा मात्र दोस्रो स्थान हाँसिल गरेको छ । प्रतिनिधिसभा तर्फ भने तेस्रो स्थानमा झरेको छ । दोस्रो स्थानमा ४२ हजार ९ सय ७५ मतका साथ नेकपा एमाले रहेको छ । जसपाले समानुपातिकको प्रतिनिधिसभा तर्फ ३८ हजार ४ सय २१ र प्रदेशसभा तर्फ ४१ हजार ६ सय २७ मत ल्याएको छ ।
 
यता प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एक सिट जित जित्दै नेकपा एमाले पर्सामा फेरिपनि क्लिन स्विप हुनबाट जोगिएको छ । २०७४ को निर्वाचनमा एमाले जिल्लामा एक स्थानमा पनि जित निकाल्न सकेको थिएन् । एमालेले यसपटक पर्सा-३ मा प्रतिनिधिसभा जितेको छ । प्रतिनिधि र प्रदेश गरि ६ सिटमा उम्मेदवार खडा गरेको एमालेले एक सिट मात्र जितेको हो । समानुपातिकको प्रतिनिधि तर्फ दोस्रो बनेको एमाले प्रदेश तर्फ भने ४१ हजार ३ सय ४ मतका साथ तेस्रो भएको छ ।

नेकपा माओवादी केन्द्रले पनि प्रत्यक्ष तर्फ एक सिट जितेर आफ्नो इज्जत जोगाएको छ । एमाले जस्तै २०७४ को निर्वाचनमा क्लिन स्विप भएको माओवादीले यसपटक प्रदेशसभाको प्रत्यक्षतर्फ एक सिट जितेर इज्जत जोगाएको हो । तिन क्षेत्रमा उम्मेदवार खडा गरेको माओवादीले पर्सा १ (क) मा जित हाँसिल गरेको छ । माओवादीका एकजना उम्मेदवारको त जनामातनै जफत भएको अवस्था । समानुपातिक तर्फ भने माओवादी पर्सामा चौथो पार्टी बनेको छ । समानुपातिकमा प्रतिनिधितर्फ माओवादीले १३ हजार २ सय ७४ र प्रदेशतर्फ ११ हजार ३ सय १३ ल्याएको छ ।

यस्तै पाँच दलीय गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एक स्थानमा जित निकालेको छ । प्रतिनिधि र प्रदेश गरि २ स्थानमा उम्मेदवार उठाएको लोसपाले पर्सा-२ (ख) मा एउटा प्रदेशसभा सिट मात्र जितेको छ । लोसपाले प्रतिनिधितर्फ पर्सा-१ बाट खडा गरेको उम्मेदवारको पनि जमानत जफत भएको छ । समानुपातिकको प्रतिनिधि र प्रदेशसभा तर्फ लोसपाले १० हजार मत पनि कटाउन् सकेको छैन । 

पाँच दलीय गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) को पर्साबाट क्लिन स्विप भएको छ । एक स्थानमा उठाएको उम्मेदवारले पनि जित निकाल्न नसक्दा नेकपा (एस) क्लिन स्विप भएको हो । समानुपातिक तर्फ पनि नेकपा (एस) ले सम्मानजनक मत ल्याउन सकेको छैन । 

समानुपातिकमा प्रतिनिधि र प्रदेश दुवै तर्फ नेकपा (एस) भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सुशासन पार्टीले मत ल्याएका छन् ।

पर्सा-३ (क) बाट स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेका छन् ।

Back to top