×

वीरगञ्ज, ११ मंसिर । देश भर प्रतिनिधिसभामा तेस्रो शक्तिका रुपमा उदाइरहेको नेकपा माओवादी केन्द्र मधेशमा क्लिन स्विप भएको छ । 

मधेश प्रदेशमा रहेको ३२ प्रतिनिधिसभा एउटामा पनि जित निकाल्न नसक्दा माओवादी केन्द्र क्लिन स्विप भएको हो । 

पाँच दलीय गठबन्धनमा रहेको माओवादीले मधेश प्रदेशका पाँच स्थानमा आफ्नो उम्मेदवार लडाएको थियो भने एक स्थानमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का उम्मेदवारले माओवादीको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । 

पाँचवटै क्षेत्रमा माओवादी केन्द्र पराजय भोग्नु परेको छ । माओवादीको चुनाव चिन्ह लिएर सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा उठेका नेसपाका अध्यक्ष महिन्द्रराय यादव मात्र विजयी भएका छन् । 

यादवले मधेशमा माओवादी चुनाव चिन्ह हँसिया हथौडाको इज्जत जोगाइदिएका छन् । माओवादीले मधेशका पाँच क्षेत्रमा आफ्ना नेता उठाएपनि रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमालेका बागी तथा माओवादीका पूर्वनेता प्रभु साहलाई समर्थन गरेको थियो । नेकपा विभाजन पश्चात एमालेमा गएका साह पुन: माओवादीमै फर्किने निश्चित छैन ।

मधेसमा विगतदेखि नै कमजोर माओवादीलाई गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाएपनि तालमेल फापेन । प्रभावशाली मानिने नेताहरू मातृकाप्रसाद यादव (धनुषा-१), विश्वनाथ साह (सिरहा-३), गिरिराजमणि पोखरेल (महोत्तरी-१) र शिवचन्द्रप्रसाद कुशवाहा (बारा-२) मा पराजित भएका छन् ।

पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका नेता हुन् । ०६४, ०७० र ०७४ मा लगातार जितेका पोखरेलको यसपटकको जितयात्रामा एमालेका लक्ष्मी महतोले ब्रेक लगाइदिए ।

माओवादीमा आएदेखि पोखरेल र मातृकाबीच लामो समय गुट उपगुटको राजनीति चल्यो । स्थानीय तहको निर्वाचनअघि उनीहरू मिलेपछि मधेशमा एकढिक्का हुने धेरैको आँकलन पनि यो नतिजाले फेल खाएको छ ।

प्रदेशसभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भएका छन् । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सीटमात्र जित प्राप्त गरेको छ ।

माओवादीले प्रदेशसभामा पर्सा १ (क), महोत्तरी १ (ख), सर्लाही ४ (ख) र रौतहट ४ (ख) मा मात्र जित निकालेको छ भने सप्तरी १ (क), सप्तरी २ (ख), सिरहा २ (क), सिरहा ४ (क), धनुषा २ (ख), महोत्तरी ४ (ख), सर्लाही २ (क), बारा ३ (क), बारा ४ (क), पर्सा ३ (क), पर्सा ४ (ख) मा भने पराजित भएको छ ।

Back to top