वीरगञ्ज, ११ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले अन्तत: निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रत्यक्ष तर्फको गणना पश्चात समानुपातिक तर्फको मतपेटिकामा पनि भुलवस खसेको प्रत्यक्ष मतलाई गणना गरेपछि आफ्नो निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ६७ मतले अगाडि रहेका गुप्तालाई निर्वाचित भएको आधिकारिक प्रमाणपत्र प्रदान गरिएको हो ।
आइतबार मतगणना स्थल पोखरियास्थित श्री नेपाल उच्चाङ्कल उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत योगनाथ ढकालले गुप्तालाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतपेटिकामा समेत भेटिएको प्रत्यक्ष तर्फको मतलाई गणना गरेर उपलब्ध गराएको अन्तिम परिणाम अनुसार गुप्ताले २२ हजार ६०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २२ हजार ४७६ मत प्राप्त गरेका छन् ।
निर्वाचनको दिन खसेको मतभन्दा मतगणनाका क्रममा केहि मतपत्र कम भेटिएको भन्दै नेपाली कांग्रेसले पुन: गणनाको माग गरेको थियो । कांग्रेसबाट पराजित चौधरीले मतगणनाका क्रममा निर्वाचनको दिन खसेको मत भन्दा २ सय ७२ वटा मतपत्र कम गणना गरिएको आरोप लगाउँदै पुन: गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।
घटेको प्रत्यक्ष तर्फको मतपत्र समानुपातिकको मतपेटिकामा पनि हुनसक्ने भएकोले समानुपातिकको मतपेटिकामा भेटिएको १ सय ५५ मतलाई गणना गर्दा पनि गुप्ता अगाडि देखिएका थिए । त्यहाँ भेटिएको १ सय ५५ मतमा गुप्ताले ५९, चौधरीले ४३, नेपाल सुशासन पार्टीका राजकुमार यादवले २२ मत ल्याएका थिए ।
आधिकारिक प्रमाणपत्र ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै गुप्ताले आफूलाई दु:ख दिने षडयन्त्रकारीहरुको योजना असफल भएको बताए । पराजित मानसिकताबाट ग्रसित केही व्यक्तिहरुले हार स्वीकार नगर्न सकेपछि आफूलाई दु:ख मात्र दिएको बताउँदै गुप्ताले अब पर्सा-३ मा आफूले विकासको लहर ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।