×

वीरगञ्ज, १० मंसिर । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) राजकुमार गुप्ताले मतगणनाको विषयमा सामाजिक सञ्जाल मार्फत फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना स्थलबाट केही मतपत्र हराएको विषयमा आएको समाचारलाई भ्रामक बताउँदै सांसद् गुप्ताले त्यसको पछाडि नलाग्न आग्रह गरेका हुन् ।

पर्सा-३ को मतगणना स्थलबाट २ सय ७२ वटा मतपत्र हराएको र विजयी घोषणा गरिएपनि गुप्तालाई मुख्य निर्वाचन अधिकृतले हालसम्म निर्वाचित भएको आधिकारिक प्रमाणपत्र नदिएको भन्दै शुक्रबार राति समाचारहरु प्रकाशित भएका छन् ।

सञ्जालमा आएका विषयलाई पराजित मानसिकताको उपज बताउँदै गुप्ताले हारेका उम्मेदवारले गरेको षड्यन्त्रलाई जनताले प्रतिकार गर्ने बताएका छन् । ‘मतगणना सम्पन्न भएको ३ दिन पश्चात यसरी भ्रम फैलाउनु पराजित मानसिकताको उपज हो । पर्सा-३ बाट निर्वाचित आधिकारिक प्रतिनिधिसभा सदस्य म हुँ । यसमा कुनै शङ्का छैन । षडयन्त्रकारीहरुको यो प्रयास सफल हुँदैन,’ गुत्पाले भने ।

गुप्तालाई बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर ३ का मुख्य निर्वाचिन अधिकृत योगनाथ ढकालले विजयी घोषणा गरेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १ सय ५१ मतको सानो अन्तरले पराजित गरेका थिए । उनले २४ हजार २६० मत प्राप्त गरेका छन् भने चौधरीले २४ हजार १०९ मत ल्याएका छन् । 

मतगणना सकिएपछि सर्वदलीय सर्वसहमतीले मुचुल्का उठाएर मुख्य निर्वाचन अधिकृत ढकालले माइकबाट आफूलाई निर्वाचित घोषणा पनि गरेको गुप्ताको भनाई छ । ‘मौखिक रुपमा मलाई निर्वाचित घोषणा गरिनुका साथै मतदान स्थलमा रहेको सूचना पाटीमासमेत मतगणनाको अन्तिम परिणाम भनेर सूचना टाँस गरिएको थियो । त्यहाँ सबै राजनीतिक दलका प्रतिनिधि र स्वयम् उम्मेदवार पनि उपस्थित थिए,’ गुप्ताले भने । निर्वाचन अधिकृतको सही छाप भएको आधिकारिक विवरण पनि आफूसँगै रहेको गुप्ताले दावी गरेका छन् । 

निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा पनि पर्सा-३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको परिणामको घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरिएको छ ।

यता कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले मतगणनामा अनियमितता भएको भन्दै मुख्य निर्वाचन अधिकृतलाई पुन: गणना (रीकाउन्टीङ) को निवेदन दिएका छन् । आइतबार सम्पन्न मतदानका दिन पर्सा-३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेपनि मतगणनाका क्रममा मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिए र २ सय ७२ वटा मतपत्र नभेटीएको बताउँदै चौधरीले पुन: गणनाको निवेदन दिएका हुन् ।

Back to top