×

फाइल तस्विर ।

वीरगञ्ज, ७ मंसिर । पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादव आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई १ हजार ६ सय २० मतले पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका यादवले पर्सा–१ मा नयाँ इतिहास पनि रचेका छन् । यस क्षेत्रमा २०४६ सालपछि दोहोरिएर निर्वाचित हुने उनि पहिलो सांसद् बनेका छन् । 

ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबारदेखि जारी मतगणनाको अन्तिम परिणाम आउँदा यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका किरण मान डंगोलले २ हजार ६ सय ५९ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार १ सय १७ मत प्राप्त गरेका छन् । 

निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले गठबन्धनले साथ नदिएको आरोप लगाए । जसपा र नेकपा एमालेको चुनावी तालमेल भएपनि एमालेका प्रभावशाली नेताहरु नै हराउने षड्यन्त्र रचेको आरोप लगाउँदै अन्ततः उक्त षड्यन्त्रलाई चिरेर आफुलाई निर्वाचित गराएकोमा जनताप्रति आभार पनि उनले प्रकट गरेका छन् । वर्षाै देखि अड्किएको नागरिक विद्येयकलाई पास गराउने आफ्नो पहिलो प्राथमिकता रहने यादवको भनाई छ । 

द्विवेदी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई नै सहयोग गर्न कांग्रेसले लक्ष्मणलाल कर्णसँग धोका गरेको कर्णको मतपरिणामले बताउँछ ।

यादव यसअघि २०७४ को निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका अनिल रुङ्टालाई ४ हजार ६ सय ५१ मतले पराजित गरेका थिए । रुंगटाले १६ हजार ४ सय ८१ म्त ल्याउँदा यादव २१ हजार १ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

Back to top