नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबल टेनिसको महिला एकलमा नेपाल पुलिसकी नविता श्रेष्ठले स्वर्ण पदक जितकी छन्।
पोखरामा भएको फाइनलमा पुलिसकै एलिना महर्जनलाई ४–३ को निर्णायक सेटमा पराजित गरी नविताले स्वर्ण हात पारेकी हुन्। यी दुई नन्द–भाउजू हुन्। पछिल्लो एक दशकदेखि चीरपरिचित प्रतिद्वन्द्वी हुन्।
प्रतिस्पर्धात्मक फाइनलमा नविताले २–० को सेटमा पछि परेको अवस्थालाई उल्टाएकी हुन्। ८–११, ६–११, १४–११, ८–११, ११–९, ११–६ र १५–१३ को सेटमा नविना विजयी भइन्।
राष्ट्रिय खेलकुदमा नविताले महिला एकलमा लगातार चौथो स्वर्ण जितेकी हुन्। उनी २०६८ को छैटौं राष्ट्रिय खेलकुद यता लगातार च्याम्पियन हुँदै आएकी छिन्।