×

आगामी नोभेम्बरको पहिलो साता बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार मात्र खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ। ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध नोभेम्बर ३ मा खेल्नेछ। दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेलेपछि भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा फेरि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ। प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षण सुरु भइसकेको छ। जसका लागि ३० खेलाडी रहेका छन्।

टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन्। 

Back to top