वीरगञ्ज २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्न ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए ।
यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ ।
राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए । पाँच दलीय गठबन्धनले राष्ट्रपति नेकपा एमालेको इसारामा चलेको आरोप लगाएका थिए ।
उनी फेरी राजनीतिमा सक्रिय हुन चाहेको निष्कर्ष निकाल्दै नेकपा एमालेमा केपी ओली पछि कुनै प्रभावशाली नेता नरहेको भन्दै राष्ट्रपतिलाई सक्रिय बनाउन थालेको पाँच दलीय गठबन्धनको आरोप थियो ।
यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनलाई समर्थन जनाएपछि नेकपा एमाले संग दुरी बढेको छ ।