×

वीरगञ्ज १४ भदौ । विना अनुमति विभिन्न ब्राण्डको लोगो प्रयोग गरि चामल बिक्री गर्ने दुईजना पक्राउ परेका छन् ।

सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङले विभिन्न ब्राण्डको लोगो राखी चामल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कम्पनीका सञ्चालक एस अग्रावालल र मेनेजर लाल बहादुर बस्नेत रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले आयातित चामलमा थकाली लङ्ग ग्रेन, मुवारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुवारक क्याटरिना जिरा, साँचो लङ्ग ग्रेन, स्पेशल अनेष्टी, सुवाश उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही वासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस लगायतका लोगो राखी बेच्ने गरेको खुलेको छ ।

खाद्य तथा गुणस्तर परीक्षणका लागि नमुना संकलन गरी उक्त उद्योगलाई सिल गरिएको छ । उक्त उद्योगबाट एक लाख ८० हजार ३० केजी चामल तथा प्याकेजिङका लागि राखिएको ४७ हजार ४६० किलो चामल बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई खाद्य ऐन २०२३ वमोजिम थप अनुसन्धानका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहल पठाइएको छ ।

 

Back to top