×

वीरगञ्ज, २१ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहलमा नगरको मूख्य सडक मर्मतको काम अघि बढेको छ ।

मेयर सिंहको विशेष पहलमा वीरगञ्जको त्रिमूर्ति चोकदेखि मुर्ली चोक हुँदै घण्टाघरसम्म पूर्व र पश्चिम तर्फ ठाउँठाउँमा रहेको खाल्डा खुल्दी पुरेर मर्मत गर्ने काम सुरु भएको हो ।

लामो समयदेखि ममर्तको आभावमा जिर्ण रहेको उक्त सडक खण्डमा दिनहु दुर्घटना हुने गरेको थियो । वर्षायाममा पानी जम्ने समस्याबाट पनि नगरवासी पिडित थिए । 

सडक विभागअन्तर्गत पर्ने उक्त सडकमा महानगरपालिकाले सोझै लगानी गर्न नसकेपनि मेयर सिंहको विशेष पहलमा विभागले आज राती (शनिबार) देखि ममर्तको काम सुरु गरेको बुझिएको छ ।

सडक मर्मतको कामको अनुगमन गर्न मेयर सिंह स्वयम् पुगेका थिए । उनले सडकमा भइरहेको कामको निरक्षण गर्दै प्रयोग भइरहेको सामग्रीको गुणस्तर पनि जाँच गरेका छन् ।

“नगरवासीको सुविधाका लागि रात र दिन हेरेर हुँदैन । म काम गर्न आएको हुँ । राती काम गर्दिन भन्ने हुँदैन,” सिंहले भने, “सडक महानगरपालिकाअन्तर्गत नपरेपनि विशेष पहल गरेर मर्मतको काम सुरु गराएको छु । छिटै सम्पन्न हुने विश्वास छ ।”

सिंहले विभागलाई छिटोभन्दा छिटो मर्मतको काम सम्पन्न गर्न आग्रह पनि गरेका छन् ।

Back to top