×

वीरगञ्ज, ३१ अषाढ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारको अर्को ठूलो भ्रष्टाचारको तथ्य सार्वजनिक भएको छ ।

राउत सरकारले प्राथमिकताका साथ प्रचारबाजी गर्ने मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पोखरी सौन्दर्यकरण कार्यक्रममा करोडौँ रकम भ्रष्टाचार भएको पाइएको छ । 

मधेश प्रदेशको चौथो वार्षिक प्रतिवेदनमा प्रदेश सरकारले पर्साको वीरगञ्जका तिन र पटेर्वासुगौली गाउँपालिकाको एक गरी चार पोखरीको सौन्दर्यकरणको काममा करोडौँ रुपैयाँ विनियोजन गरेर पनि काम नभएको पाइएको छ । पोखरी सौन्दर्यकरणको काम अधुरो र अलपत्र अवस्थामा पाइएको प्रतिवेदनमा उल्लेख छ  ।

वीरगञ्जको नगवा, मुर्ली, लक्ष्मणवा र पटेर्वासुगौलीको निचुटा पौखरीको सौन्दर्यकरणका लागि मात्रै मधेश सरकारले २३ करोड ९० लाख रुपैयाँ खरिद सम्झौता गरी निर्माण व्यवयासीलाई भने १६ करोड ८ लाख ३० हजार भुक्तानी गरिसकेको छ ।

यद्दपी लेखापरीक्षणको क्रममा अवलोकन गर्दा पोखरीहरु पुरानै स्वरूपमा रहेको पाइएको छ । पोखरीहरुको अधिकांश भाग बाहिरबाट माटो ल्याई पुरेको, कंक्रिट संरचना निर्माण गरेकोमा ठाउँ–ठाउँमा भत्केको, गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको, डीपीआरलाई बेवास्ता गरी काम गराएको पाइएको छ ।

पोखरीहरुको डिलमा पिलर समेत नराखी भवन निर्माण गरेको, सोलार लाइट जडानको भुक्तानी भएकोमा सबै स्थानमा लाइट जडान नगरेको र दुईवटा पोखरीको काम अधुरो अवस्थामा रोकिएको स्थिति देखिएको छ । सौन्दर्यकरण कार्य गरेका सबै पोखरीको जग्गाको क्षेत्रफलसमेत यकिन हुन सकेको छैन ।

यस्तै मधेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यान्वयन गर्न पनि अनावश्यक कर्मचारी भर्ना गरी लाखौँ अनियमितता गरेको छ । कार्यक्रम बजेटबाट ११ जनालाई करारमा राखी ३८ लाख २४ हजार, बेटी पढाउ बेटी बचाउ कार्यक्रमका लागि ६ जनालाई करारमा राखी २१ लाख ६७ हजार र पुँजीगततर्फको कन्टिन्जेन्सीबाट ३२ जना सुपरभाइजर राखी ३९ लाख ३६ हजार पारिश्रमिक भुक्तानी भएको छ ।

Back to top