×

वीरगञ्ज, ३० अषाढ । जनता समाजवादी पार्टी नेपाल (जसपा) वीरगञ्जमा जारी केन्द्रीय समितिको बैठकमा दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्यहरुले सहभागिता जनाएका छन्  । 

बुधबारदेखि वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा सुरु भएको केन्द्रिय कार्यसमितिको बैठकमा बिहिबार दिउँसोसम्म ३ सय ७ जना केन्द्रीय सदस्य र कार्यकारिणी सदस्यहरुले आफ्नो नाम दर्ता गराएको बुझिएको छ । आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो नाम दर्ता गराउने क्रम जारी रहेको छ ।

बहुसङ्ख्यक सदस्यहरु वीरगञ्जको बैठकमा सहभागी भएकोले यसलाई जसपाको आधिकारिक बैठक मान्नुपर्ने नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए । मन्त्री यादवका अनुसार बैठकमा जसपाका २३ प्रतिनिधिसभा सदस्यमध्ये १९ जनाको उपस्थिति रहेको छ ।

‘जसपामा ४८९ जना केन्द्रीय सदस्य छन् । पार्टीबाट लोसपा छुटिएर जाँदा केहि केन्द्रिय सदस्य त्यहाँ गए, स्थानीय तहको निर्वाचन अगाडि पनि केहि केन्द्रिय सदस्यहरुले पार्टी परित्याग गरेका छन् । ४० देखि ५० जना केन्द्रीय सदस्य अन्य पार्टीमा गएको अवस्था छ,’ वन मन्त्री यादवले भने, ‘बाँकी रहेका मध्ये बहुसङ्ख्यक वीरगञ्जको बैठकमा उपस्थित छन् । त्यसैले पार्टीको आधिकारिक बैठक यो हो ।’

उदघाटन सत्रमा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीसँग असन्तुष्ट रहेका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँमा गरेको बैठकलाई अबैधानिक बताएका थिए । “जसपाको ब्यानर दुरुपयोग गरेर काठमाडौँमा बसेको बैठक अवैध हो, त्यसले वैद्यानिकता पाउँदैन, राजनीतिक संस्कार नभएका व्यक्तिले गुटगत भेला गर्नुभएको छ ।” डा. भट्टराई स्थिर हुन नसक्ने बताउँदै अध्यक्ष यादवले अस्थिर मानसिकताले पार्टी र सङ्गठन नचल्ने जिकिर गरे ।

अध्यक्ष यादवले डा. भट्टराईले शक्ति केन्द्र धाइरहेको आरोप पनि लगाए । “डाक्टर साब शक्ति केन्द्र धाइरहनु भएको छ । कहिले माओवादी अध्यक्ष प्रचण्डजीसँग भेटेर कम्युनिष्ट मिल्नुपर्ने भन्नुहुन्छ त कहिले माधवजीसँग भेटेर समाजवादी केन्द्र बनाउनु कुरा गर्नुहुन्छ । डाक्टरसाबले त प्रधानमन्त्रीसँग भेटेर पार्टी फुटाउनेसम्मको कुरा गर्न भ्याइसक्नु भएको छ,’ उनले भने । 

डा. भट्टराईले बहुसङ्ख्यक केन्द्रीय सदस्यले हस्ताक्षर गरेको निर्णय ल्याए आफूले पार्टीको अध्यक्ष पद त्याग्ने बताउँदै यादवले भने, ‘आफूसँग बहुतमत छ भन्ने तर पार्टीको कार्यकारिणी सदस्यले निर्णय गरेको बैठकमा नआएर पार्टीको ब्यानर दुरुपयोग गरेर काठमाडौँमा गुटको भेला गर्दै हिड्नु भएको छ । उहाँसँग बहुसङ्ख्यक सदस्य छन् भने हस्ताक्षरसहितको निर्णय ल्याउनुस् न म पार्टी अध्यक्षको पदबाट पछाडि हट्न तयार छु । तर उनि यहाँ आउनु भए आफ्नो छुट्टै भेला बोलाउनु भयो जहाँ उनि मिलाएर २ जना सांसद् सहभागी छन् र यहाँ दुई तिहाई भन्दा बढीको सहभागिता देख्न सकिन्छ ।’ 

त्यसैगरी जसपाका वरिष्ठ नेता अशोक राईले पनि डा.भट्टराईमाथि बेइमानी गरेर पार्टीको व्यानर दुरुपयोग गरिरहेको आरोप लगाए । वीरगञ्जमा बैठक बोलाएकै दिन पारेर काठमाडौँमा भ्रम छर्न पार्टीकै व्यानर प्रयोग गरी बैठक बोलाएर समूहको भेला राख्नु डा.भट्टराईको बेइमानी भएको उनको दावी थियो ।   

नयाँ पार्टी गठनका लागि भनेर भेला बोलाउनु स्वभाविक हुने भए पनि जसपाको व्यानर राखेर भेला बोलाउनु पार्टीको नीति र विधि विपरित भएको उनको भनाई थियो । पार्टी छाडेर जो कोही पनि जान सक्ने भन्दै उनले कोही पनि जेलमा बसेको कैदी जस्तो नभएको पनि उनले स्पष्ट पारे । आफैले निर्माण गरेको, बनाउँछु भनेर अगाडी सरेको मान्छे अहिले पछाडी हट्नु आफ्नो लागि दुःखको कुरा भएको पनि उनले बताए ।

त्यसैगरी पार्टी कार्यकारिणी सदस्य समेत रहेका कृषि मन्त्री मृगेन्द्र राय यादवले किचकिच गरिरहने, बखेडा झिकिरहनेलाई पार्टीमा राख्नै नहुने भन्दै भट्टराईलाई यही बैठकबाट निष्कासन गरेको निर्णय गर्नु पर्ने माग राखे । “किचकिच गरिरहने, बखेडा झिकिरहनेलाई पार्टीमा राख्नु हुँदैन,” उनले भने, “त्यस्तालाई निकालिदिनुपर्छ ।”

वन तथा वातारण मन्त्री प्रदीप यादवले जसपा शक्तिशाली बन्दै गएपछि विदेशी शक्तिहरुको इसारामा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको । पार्टीलाई सिध्याउन विभिन्न बाहिरि शक्तिहरुको सहयोगमा षड्यन्त्र भएपनि ति षड्यन्त्रलाई परास्त गर्दै पार्टीले जनताको मन र विश्वास जित्न सफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री यादवले बताए ।

बैठकमा सङ्घ सरकारका स्थानीय विकास मन्त्री राजेन्द्र बहादुर श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राइन, पूर्वमन्त्री रामसहाय यादव, वीरगञ्जका मेयर राजेशमान सिंह लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए । अहिले टाउन हलमै केन्द्रीय समितिको बन्द सत्र चालिरहेको छ ।

यता बुधबार काठमाडौँको जडिबुटीमा सम्पन्न भएको जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा १०६ जम्मा जनाले नाम दर्ता गराएको भट्टराई पक्षले दावी गरेको छ । यसको कुनै आधिकारिक जानकारी भने आएको छैन । भट्टराईको बैठकमा उनिसहित २ जना प्रतिनिधिसभा सदस्य सहभागी भएका थिए । 

केही केन्द्रीय सदस्य भने तटस्थ रहेको बुझिएको छ । उनीहरुले कुनैपनि पक्षको बैठकमा सहभागिता जनाएका छैनन् ।

Back to top