वीरगञ्ज, १६ अषाढ । देशकै कान्छो अध्यक्ष भएको पर्साको कालिकामाई गाउँपालिका हालसम्म पनि आफ्नो गाउँसभा गर्न सकेको छैन ।
नियमानुसार असार असार १० गते भित्र हुनुपर्ने गाउँसभा आज ६ दिन ढिलो हुँदापनि अनिश्चित छ । जनप्रतिनिधि बीच बजेट बाँडफाँडको विषयमा कुरा नमिल्दा गाउँसभ हुन् नसकेको बुझिएको छ । गाउँसभा नहुँदा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट पनि आउन सकेको छैन ।
गाउँपालिकी उपाध्यक्ष राजमती देवी बरैनीले आफ्नो फाइदा अनुसारको नीति, कार्यक्रम तथा बजेट बनाउँन माग गर्दै गाउँसभा अनिश्चित भएको अध्यक्ष वशिष्ठ कुमार गुप्ताको भनाई छ । अध्यक्ष गुप्ताका अनुसार नीति तथा कार्यक्रम आवश्यकताको आधारमा बनाउँन भन्दा उपाध्यक्ष बरैनीसहित केही जनप्रतिनिधिले सोझै भागबन्डा मागिरहेका छन् ।
भागबन्डाको आधारमा बजेट बनाउँदा गाउँपालिकाका लागि आवश्यक रहेको योजनाहरु गर्न नसकिने अध्यक्ष गुप्ताको तर्क छ । ‘गाउँपालिकालाई प्रविधियुक्त बनाउँदै शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा सुधार गर्नु मेरो पहिलो प्राथमिकता हो,’ अध्यक्ष गुप्ताले यात्राडेलीलाई भने, ‘तर बजेटलाई भागबन्डाको आधारमा बाँडेर काम गर्दा त्यसको लागि पैसा अपुग हुन्छ । महत्वपूर्ण योजनाहरु गर्न सकिन्न ।’
गाउँपालिकामा प्रशासनिक सुधार गर्नुपर्ने देखिएको बताउँदै अध्यक्ष गुप्ताले भने, ‘अहिलेको आवश्यकता वडा कार्यालयहरुलाई प्रविधियुक्त बनाउँदै त्यहाँबाट प्रवाह हुने सेवालाई सहज र सरल बनाउनु हो । त्यसपछि विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण गर्दै त्यसलाई आधुनिकीकरण गर्नु छ । स्वास्थ्य सेवाका अधिकतम सेवा गाउँमै उपलब्ध गराउने मेरो योजना छ । यस्ता काममा पनि केही जनप्रतिनिधिले साथ दिरहेका छैनन् ।’
यता अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडा अध्यक्षहरुलाई ३०/३० लाख बराबरका योजना दिएर अन्य रकम नगरस्तरीय कार्यक्रममार्फत आफै चलाउन खोजेको कालिकामाई-२ भेडिहारीका वडाध्यक्ष सोनालाल चौरसियाको आरोप छ । चौरसियाका अनुसार गुप्ता आफ्नो गाउँ स्तरीय कार्यक्रममा बढी बजेट राखेर वडा अध्यक्षहरुलाई कम रकम दिन खोजिरहेका छन् ।
यद्दपी, अध्यक्ष गुप्ताले उपाध्यक्ष र केही जनप्रतिनिधि बाहेक अन्य सबै गाउँसभा गर्न तयार रहेको बताए । ‘उहाँहरुले भने अनुसारको नीति तथा कार्यक्रम बनाउँन नमान्दा गाउँसभामा अवरोध पुर्याउँदै हुनहुन्छ,’ गुप्ताले भने ।
गाउँसभा समयमा नहुँदा गाउँपालिकाको विकास निर्माणको काम प्रभावित हुने निश्चित छ ।