प्रभु हजरा र विजयकुमार सरावगी । तस्विर : सामाजिक सञ्जाल ।
वीरगञ्ज, १४ अषाढ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरेका छन् ।
एमाले पर्साका जिल्ला इन्चार्जसमेत रहेका हजराले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
लामो समयदेखि पार्टीको राजनीतिमा सक्रिय हजराले अहिलेसम्म प्रत्यक्ष निर्वाचन नलडेको र पार्टीको राजनीति गर्दागर्दै समानुपातिकबाट सांसद् बन्ने दाउमा रहेको केही सञ्चारमाध्यममा खबर आएपछि उनले प्रत्यक्षबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका छन् ।
‘पार्टीको राजनीति गरेर नेकपा एमालेलाई जिल्लाकै ठूलो पार्टीका रुपमा स्थापित गर्न सफल भएको छु,’ हजराले यात्राडेलीसँगको टेलिफोन संवादमा भने, ‘अब निर्वाचन लड्ने बेला भयो । पर्सा क्षेत्र नम्बर २ को क्षेत्र खाली छ । त्यहाँबाट निर्वाचन लड्छु । तयारी पनि गरिसकेको छु ।’ हजरा केन्द्रीय सदस्य बन्नुभन्दा पहिला नेकपा एमालेको जिल्ला अध्यक्ष पनि थिए ।
हाल त्यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विमल श्रीवास्तव सांसद् छन् । तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित उनले जसपा फुटेपछि लोसपा रोजेका थिए । स्रोतका अनुसार श्रीवास्तव अब निर्वाचन लड्ने मुडमा छैनन् ।
यद्दपी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी लड्ने चर्चा पनि छ । उनले यसको लागि तयारी पनि गरिरहेको स्रोतको दावी छ । सरावगी पनि नेकपा एमालेकै नेता हुन् । स्थानीय निर्वाचनभन्दा केही महिना अगाडि मात्रै जसपा त्यागेर एमाले गएका उनि वीरगञ्जको मेयरमा राजेशमान सिंहसँग पराजित भएका थिए । सरावगीले अहिले उक्त क्षेत्रमा आफ्नो गतिवधि पनि बढाएका छन् । उनि अहिले क्षेत्रमा पर्ने विद्यालयमा पंखादेखि स्वास्थ्य सामग्री वितरण गर्दै हिडेका छन् ।
कांग्रेसबाट भने पार्टीका केन्द्रीय सदस्य अजय चौरसिया लड्ने कुरा छ । चौरसिया यसअघि सम्पन्न भएका २ निर्वाचनदेखि हार्दै आएका छन् ।