×

वीरगञ्ज, १२ अषाढ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा सडक ढलान र नाला निर्माणको काममा गुणस्तरहिन र कमशल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन्  ।

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा वीरगञ्ज–१० को बजरङ्ग टोलस्थित हनुमानगढी मन्दिर नजिकै विश्वप्रकाश शर्माको घर अगाडि उपभोक्ता समिति मार्फत निर्माण भइरहेको ढलान सडक र नालामा गुणस्तरहिन सामग्री प्रयोग गरेर मापदण्ड विपरित काम भइरहेको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका हुन् । 

निर्माण भइरहेको ढलान सडक काम समपन्न नहुँदै ठाउँठाउँमा भासिएको र ढलानलाई पानीले बगाएको छ भने नालामा गुणस्तरहिन सामग्री प्रयोग गरिएको कारण नाला टेढो भएको स्थानीयहरुले बताएका छन् ।

भौतिक पूर्वाधार मन्त्रलायले वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयमार्फत उक्त स्थानमा ३ सय ३६ मिटर पिसिसी ढलान सडक र १ सय ३७ मिटर आरसीसी नाला निर्माणका लागि बजरङ्ग टोल सडक निर्माण उपभोक्ता समिति गठन गरेर निर्माणको जिम्मा दिएको छ । उपभोक्ता समितिले २ लाख ७१ हजार ८७ रुपैयाँ हाल्ने गरी निर्माणको कुल लागत २६ लाख ७१ हजार ८७ रुपैयाँ रहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष आकाश साह नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका ठाकुरराम बहुमुखी क्याम्पस एकाई कमिटिका अध्यक्ष मनोज कुमार गुप्ताका भाई हुन् । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री पनि कांग्रेसकै भएकोले साहले आफ्नो पार्टीगत शक्तिलाई प्रयोग गरेर ल्याएको बजेटबाट आफ्नै भाइको नाममा उपभोक्ता समिति गठन गरेर ढलान सडक र नाला निर्माण गर्दैछन् ।

यद्यपी उपभोक्ता समितिका सदस्यहरुले पैसा बचाउन गुणस्तरहिन र कमशल सामग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरित काम गरिरहेको स्थानीय परमानन्द उपाध्यायले बताए । उपभोक्तासँग कामको लगत इस्टिमेटको बारेमा जानकारी माग्दा पनि नदिएको उपाध्यायको आरोप छ । “पछिल्लो १०–१२ दिनदेखि निर्माणको काम भइरहेको छ । आफ्नै टोलमा काम भइरहेकोले त्यसको गुणस्तर, लागतको बारेमा जानकारी पाउनु हाम्रो अधिकार हो”, उपाध्यायले यात्रा डेलीसँगको टेलिफोन संवादमा भने, “तर उपभोक्ता समितिसँग गुणस्तर र लगत इस्टिमेट माग्न जाँदा धम्किपूर्ण भाषामा दिन मिल्दैन भनेर जवाफ फर्काउने गरेका छन् ।”

हेर्दा पनि सडक र नालामा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित काम गरिएको स्पष्ट देखिन्छ । पूर्वाधार कार्यालयले बनाएको गुणस्तर र लागत इस्टिमेटका अनुसार एक बोरा सिमेन्ट, डेढ बोरा बालुवा र तिन बोरा गिट्टी मिसाएर ८ इन्चको पिसिसी सडक ढलान गर्नुपर्नेमा उपभोक्ता समितिले इस्टिमेटभन्दा बढी गिट्टी र बालुवा मिसाएको अर्का स्थानीय राजन प्रसाद कलवारले बताए ।  

त्यसैगरी उपभोक्ता समितिले एकरुप हिसाबले सडक ढलानसमेत नगरेको पाइएको छ । सडक ढलान गर्दै कुनै ठाउँमा १० फिटको ढलान गरिएको छ भने कतै ७ फिट मात्र ढलान गरिएको छ । सडक ढलान कहाँदेखि कहाँसम्म भइरहेको छ भनेर प्रश्न गर्दासमेत उपभोक्ता समितिका सदस्यहरु झगडा गर्ने गरेको कलवारले बताए । 

कलवारका अनुसार आवश्यक्ता नभएको ठाउँमासमेत सडक ढलान र नाला निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्षको साहको जग्गा पर्ने ठाउँमा अनावश्यक रुपमा जग्गाको मोल बढाउन पनि सडक ढलान र नाला निर्माण गरिएको कलवारले बताए । “जहाँ एउटा पनि घर छैन, त्यहाँ नाला र रोड बन्दै छ,” कलवारले भने, “उपभोक्ता समितिका अध्यक्षले आफ्नो जग्गाको भाउ बढाउन खाली ठाउँमा सडक ढलान गर्दै नाला बनाएको छ । तर जहाँ आवश्यकता छ, त्यहाँ केही छैन ।”

आइतबार बिहान स्थानीय नेता अजय गुप्तासँगै निर्माणस्थल पुगेका स्थानीय र उपभोक्ता समितिका सदस्यहरुबीच इस्टिमेटको विषयमा भनाभनसमेत भएको थियो । 

प्राविधिक व्यक्तिका अनुसार पनि ढलान गरिएको सडकको गुणस्तर राम्रो छैन । माटो भएको ठाउँमा आरसीसी सडक ढलान गर्नुपर्नेमा उपभोक्ता समितिले पैसा बचाउने चक्करमा पूर्वाधार कार्यालयका कर्मचारीहरुसँग मिलेर इस्टिमेट नै गलत बनाएर पीसीसी ढलान गरेको एकजना इनिजिनियरले बताए । “यो ढलान धेरै दिन टिक्दैन । वर्षातमा पानीले ढलान तलको माटो बगाएर लिन्छ र हेभी गाडी चले सडक टुट्छ । नाला निर्माण गर्दा पनि इस्टिमेट अनुसारको मापदण्ड पालना गरिएको छैन”, उनले भने ।

यता, उपभोक्ता समितिका अध्यक्ष आकाश साहले सडक ढलान र नाला निर्माणमा कुनै कमजोरी नभएको दावी गरे । केही स्थानीयहरुको व्यक्तिगत स्वार्थ पूरा नहुँदा अनावश्यक विरोध गरेको गुप्ताको आरोप छ । निर्माण काम चलिरहेकोले कहिँकतै कमजोरी देखिए त्यसलाई आफूहरुले ठिक गर्दै लगिरहेको उनको भनाई छ ।

Back to top