वीरगञ्ज, १२ अषाढ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित श्री भङ्गी साह नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएको र भएका शिक्षकले समेत पठनपाठनमा ध्यान नदिएको बताउँदै विद्यार्थीहरुले आइतबार बिहान विद्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् ।
शैक्षिक सत्रको सुरुवातदेखि नै शिक्षक अपुग रहेको विद्यार्थीहरुको भनाई छ । विद्यालयका प्रधानाध्यापक, वडाका जनप्रतिनिधि र मेयरसमेतलाई शिक्षक आभाव बारे जानकारी गराउँदा कुनै सुनुवाई नभएपछि बाध्य भएर आफूहरुले तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत सैफ अली अन्सारीले बताए । विद्यार्थीहरुले यसअघि शिक्षकको समस्या समाधान गर्न ७ दिने अल्टिमेटम दिएका थिए । त्यो सकेपछि तालाबन्दी गरेका हुन् ।
“हामी गत वर्ष कक्षा ९ मा हुँदा पनि यस्तै समस्या थियो । त्यो बेला विद्यालयले अर्को वर्ष दरबन्दी अनुसारको शिक्षक नियुक्ति हुने आश्वासन दिएको थियो । तर त्यस्तो भएन, शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दा पनि सबै विषयका शिक्षक छैन,” अन्सारीले भने ।
विद्यालयमा दैनिक ७ घन्टी पढाई हुनुपर्नेमा २ देखि ३ घन्टी मात्र पढाई हुनेगरेको विद्यार्थी बताउँछन् । “कक्षा ९ र १० मा ७/७ वटा घन्टी लिन जम्मा ४ जना शिक्षक छन् । उनीहरुले कक्षानै लिन भ्याउँदैनन् । त्यसमा पनि प्रायजसो कुनैनकुनै शिक्षक अनुपस्थित रहन्छन,” अन्सारीले यात्राडेलीलाई भने, “अहिले हाम्रो गणित, ऐच्छिक गणित, अर्थ शास्त्र र स्वास्थ्यको शिक्षक हुनहुन्न । केहि दिन अगाडि अस्थायी रुपमा एकजना गणितको शिक्षक आएपनि स्थानीयहरुको दवावमा उनलाई हटाउनु परेको थियो ।”
शिक्षकको समस्या कक्षा ९ र १० मा मात्र छैन । अन्सारीका अनुसार कक्षा १, २ र ३ को शैक्षिक सत्रको सुरुवातदेखि एक दिन पनि कक्षा सञ्चालन भएको छैन । शिक्षकहरु आएपनि वाईफाई चलाएर बस्छन, पढाउँन जाँदैनन् । प्रधानाध्यापकलाई गुनासो गर्दा उनले कुनै वास्त नगर्ने गरेको अन्सारीले बताए ।
विद्यालयका प्रधानाध्यापक सुधाकर उपाध्यायकाले दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको स्वीकार गर्छन । उपाध्यायका अनुसार नगरपालिका र वडासँग पटकपटक शिक्षकको माग गरिएपनि कुनै सुनुवाई भएको छैन । व्यवस्थापन समिति गठन नहुँदा पनि शिक्षक नियुक्ति गर्न नसकिएको उनले बताए । “शिक्षक आभावको समस्यालाई समाधान गर्न हामी लागिपरेका छौँ । अबको केहि दिनमा अभिभावक समिति गठन गरेर, शिक्षक नियुक्तिको प्रकिया सुरु हुन्छ । विद्यार्थीहरुसँग छलफल गर्न भोली मेयरसाब आफै आउँदै हुनुहुन्छ,” प्रधानाध्यापक उपाध्यायले भने ।
विद्यार्थीहरुले उठाएको माग जायज भएको वडा सदस्य ललसा कुमारीले पनि स्वीकार गरिन । अभिभावक समिति गठन नहुँदा वडा समितिले समस्या समाधानका लागि केहि गर्न नसकेको ललसाको भनाई छ । यद्दपी विद्यालयमा स्वयम् सेवकका रुपमा शिक्षक नियुक्तिको लागि वडाले पाँच लाख रुपैयाँ बजेट छुट्ट्याएको उनले जानकारी दिइन । ‘विद्यालयमा सुधार होस् भनेर हाम्रो पहिलो प्राथमिकता छ । त्यसैले ५ लाखको बजेट छुट्ट्याएका छौँ । वडा समितिबाट निर्णय गरेर अब दैनिक रुपमा सबै विद्यालयको अनुगमनमा जाने पनि हार्मो योजना छ । शिक्षासँग कुनै कम्प्रोमाइज हुँदैन,’ उनले भनिन् ।
बहुदरमाई नगरपालीकाका नगरप्रमुख (मेयर) सिंगासन साह तेलीले विद्यालय पुगेर भोली प्रधानाध्यापक र अभिभावकसँग छलफल गर्ने बताए । शिक्षक नियुक्ति फास्ट ट्रयाक प्रक्रिया मार्फत गरेर छिटोभन्दा छिटो विद्यालयको पठनपाठनलाई नियमित बनाउन आफूहरु लगेको उनको भनाई छ ।