×

वीरगञ्ज, ११ अषाढ । नबिल बैंकले सञ्चालनमा ल्याएको नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप (नबिल एसइइ) अन्तर्गतको प्रमाणपत्र पाठ्यक्रम कार्यक्रमकाको वीरगञ्जमा आज उद्घाटन गरिएको छ ।

यहाँ स्थित वीरगञ्ज पब्लिक कलेजसँगको सहकार्यमा नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप अन्तर्गतको प्रमाणपत्र पाठ्यक्रम कार्यक्रमकाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले उद्घाटन गरेका छन्  ।

उद्घाटन गर्दै मेयर सिंहले नबिल बैंकले यस्तो महत्वपूर्ण कार्यक्रम गर्न मधेश प्रदेश भारीमा वीरगञ्जलाई छानेकोमा धन्यवाद दिए । उद्यमशीलता बिना देशमा समृद्धिको कल्पना पनि गर्न नसकिने बताउँदै मेयर सिंहले नबिल बैंक र वीरगञ्ज पब्लिक कलेजले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस कार्यक्रमले वीरगञ्जको विकासमा ठूलो टेवा पुग्ने बताए ।

सिंहले कार्यक्रम सञ्चालन गर्दा वीरगञ्ज महानगरपालिकाबाट हुन् सक्ने हरेक सहयोग उपलब्ध गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न सञ्चालन गरिएको नबिल एसइइ अन्तर्गतका प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचको आज उद्घाटन गरिएको हो । पहिलो ब्याचका लागि ६१ जनाले आवेदन दिएकोमा २५ जना छनोट भएको कार्यक्रमका मधेश प्रदेश संयोजक अरविन्द श्रेष्ठले जानकारी दिए । २५ जना सहभागी हारुलाई ४ वटाको समूहमा बाडेर वर्षभारी प्रमाणपत्र कक्षा सञ्चालन गरिने छ । 

आवेदकहरुले पेश गरेको आवेदनलाई सामाजिक उद्यमको सम्भाव्यता अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्ने सक्ने जस्ता मापदण्ड राखेर सहभागिहरुको छनौट गरिएको अरविन्दले बताए । उनले कार्यक्रम वर्षभारी चल्ने भएको हुनाले १८ वर्ष पार गरेका उद्यमशिलता प्रबद्र्धन गर्न इच्छुक विद्यार्थी र उद्यमीले वर्षको कुनैपनि बेला आएर आवेदन दिन सक्ने जानकारी दिए । 


 
प्रमाणपत्र कार्यक्रमले मुख्यगरी कृषि, शिक्षा, स्वास्थ्य, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिने बैंकका मधेश प्रदेश प्रमुख दीपक श्रेष्ठले बताए ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य रहेको दीपकले बताए । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने उनको भनाई छ ।

दीपकका अनुसार छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागिहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायीक योजना तयार गर्न सक्ने हुनेछन् ।

कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यो साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति तयार गर्ने यस कार्यक्रमको सोच रहेको श्रेष्ठले बताए ।  

उदघाटन कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक एवम् शिक्षाविद् डा. दीपक शाक्य, कलेजका प्रधानाध्यापक विनय श्रेष्ठ, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष राकेश साहलगायतको उपस्थिति रहेको थियो ।

Back to top