×

वीरगञ्ज, ५ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ले आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो वडा स्तरीय योजनाहरु सार्वजनिक गरेको छ ।

वडा अध्यक्ष सुशील कुमार कानुले वडावासीसँगको छलफल पश्चात त्यहाँका आवश्यकता अनुसारको ७९ लाख रुपैयाँ बराबरको वडा स्तरीय योजनाहरु सार्वजनिक गरेका हुन् ।

नौलो प्रयासअन्तर्गत वडा अध्यक्ष कानुले शनिबार सहभागितामुलक गोष्टि तथा योजना छनौट कार्यक्रम गरेर वडाको विभिन्न टोलका बुद्धिजीवी, शिक्षक, विभिन्न पेशामा आबद्ध व्यक्ति, वृद्ध र समाजसेवीहरुको उपस्थितिमा भेला गराएर उनीहरुले दिएको सुझाव अनुरुप बनाइएको विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको योजनामा सम्पूर्ण क्षेत्र समेटिएको कानुले दावी गरेका छन् । योजनाअन्तर्गत वडा नम्बर १० का बासिन्दाले वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रबाट रगत लिंदा त्यसको सम्पूर्ण खर्च वडाले व्यहोर्ने भएको छ । त्यसकोलागि ३ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

त्यस्तै वडाका विभिन्न स्थानमा डस्टबिन राख्नका लागि १० लाख रुपैयाँ छुट्ट्याइएको छ । वडामा रहेका खुल्ला नालाहरुलाई ढाक्ने कार्यका लागि १० लाख रुपैयाँ, वडामा रहेका दुईवटा सामुदायिक विद्यालयलाई पठनपाठन सामग्री वितरण गर्नका निमित्त ५ लाख रुपैयाँ, वडावासीको आर्थीक साहयता र विभिन्न पूजापाठका कार्यक्रम गर्नका लागि ५ लाख रुपैयाँ, खेलकुदको विकास र प्रवर्द्धनका निमित्त खेलकुद सामग्री खरिद गर्नका लागि २ लाख रुपैयाँ, विभिन्न स्थानमा चापाकल जडान गर्न ५ लाख रुपैयाँ छुट्ट्याइएको छ।

त्यसैगरी वडास्थित शम्भु तिवारीको घरदेखि जगु साहको घरसम्म नाला मर्मत र ढाक्ने कार्यका लागि ७ लाख रुपैयाँ लगायतका लागि बजेट छुट्ट्याइएको कानुले जानकारी दिए ।

Back to top