वीरगञ्ज, २६ जेठ । वीरगञ्जस्थित एथिना इन्टरनेशन एडुकेशन कन्सल्टेन्सीद्वारा चौथो वृहत शैक्षिक मेला आयोजना गरेको छ ।
यहाँस्थित होटल मकालुमा प्लस टु पढ्ने विद्यार्थीलाई लक्षित गर्दै बिहिबार शैक्षिक मेलाको आयोजना गरिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मेलामा हालसम्म ५ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेको आयोजकले दावी गरेका छन् । मेला आज साँझ ५ बजेसम्म चल्ने छ ।
भारत गएर पढ्न चाहने विद्यार्थीलाई लक्षित मेलामा त्यहाँका २० वटाभन्दा पनि बढी ख्याती प्राप्त विश्वविद्यालय, कलेज र अन्य शैक्षिक संस्थाले परामर्श दिरहेका छन् । मेलामा आएर परामर्श लिने विद्यार्थी र अभिभावकलाई शैक्षिक संस्थाहरुले इच्छाएको विषय लिएर पढ्ने बारेमा जानकारी दिनुका साथै विशेष छुटको समेत व्यवस्था गरिएको छ ।
एथिना एडुकेशन कन्सल्टेन्सीका सञ्चालक शुभम चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रमको सङ्घीय सांसद् प्रदीप यादवले उदघाटन गरे । प्रमुख अतिथिसमेत रहेका सांसद् यादवले कार्यक्रमको उदघाटन गर्दै विद्यार्थीहरुलाई भारतमा अध्ययन गर्न जाँदा सही शैक्षिक संस्था र स्थानको बारेमा जानकारी लिएर मात्र जान सुझाव दिए ।
सांसद् यादवले विद्यार्थीहरुलाई भारत र अन्य मुलुक भन्दा पनि नेपालकै शैक्षिक संस्थामा अध्ययन गर्ने प्रोत्साहन गर्दै भने, "अन्य देशमा गएर पढ्नु भन्दा राम्रो आफ्नै देशको शैक्षिक संस्थालाई रोज्न द्यार्थी भाईबहिनिहरुलाई मेरो सुझाव छ । किनभने हाम्रो देशका कलेजहरु पनि कुनै विदेशको शैक्षिक संस्था भन्दा कम छैनन् । तर विदेशनै गएर पढ्ने इच्छा छ भने अन्य मुलुक भन्दा भारत रोज्न म विद्यार्थीहरुलाई आग्रह गर्छु । भारत र हाम्रो सम्बन्ध कुटनीतिक नभएर सांस्कृतिक छ । अन्य मुलुकको तुलनामा हरेक किसिमले भारतमा तपाईंहरुलाई सहज हुन्छ ।"
त्यसैगरी उनले भारतका कलेजहरुलाई नेपालबाट गएका विद्यार्थीलाई विशेष छुट दिनुका साथै उनीहरुको अध्ययनका लागि राम्रो वातावरण सृजना गर्न आग्रह पनि गरे । उनले विद्यार्थीलाई भारत अथवा अन्य मुलुकमा गएर अध्ययन गरेपनि फर्केर आफ्नै जन्मभूमि नेपाल आउन र यहाँको विकास र समृद्धिको लागि काम गर्न सुझाव दिए ।
त्यस्तै कन्सल्टेन्सीका सञ्चालक चौरसियाले यसपटकको मेला करिअर काउन्सिलिङका लागी कोशे ढुङ्गा सावित भएको बताए । विद्यार्थी र अविभावकले भारतका कलेजहरुको बारेमा पाउनुपर्ने सूचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उदेश्य पनि पूरा भएको चौरसियाले बताए । यसपटकको सहभागिताले आफुहरु उत्साहित भएकोले आगामि दिनमा थप मेला आयोजना गर्न उर्जा मिलेको चौरसियाको भनाई छ । उनले मेला अहिले पनि जारी रहेकोले अन्य विद्यार्थीलाई मकालु होटल पुगेर नि:शूल्क परामर्श सेवाको फाइदा उठाउन आग्रह पनि गरेका छन् ।