×

नितेश यादव

बिन्दबासिनी गाउँपालिका आदरणीय अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरुमा मेरो नमस्कार । मेरो नाम नितेश यादव हो । म बिन्दबासिनी गाउँपालिकाको स्थानीय बासिन्दा हुँ । यस गाउँपालिकाका जनताको विकास प्रतिको भावना यस पत्र मार्फत प्रस्तुत गर्न खोज्दै छु । बिन्दबासिनी गाउँपालिकाको विकास र परिवर्तनको चाहना हामी सम्पूर्ण स्थानीयहरुमा । हाम्रो चाहना भएपनि त्यसलाई पूरा गर्ने स्रोत, साधन, शक्ती र पहुँच आम जनतासँग छैन । तसर्थ हामीले गाउँपालिकाको जनप्रतिनिधिका रुपमा यहाँहरुलाई निर्वाचित गरेका छौँ  । हुनत: गाउँपालिका संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि बिन्दबासिनी गाउँपालिका जनप्रतिनिधिबाट बिन्दबासिनी गाउँपालिका जनताले खोजेको विकासका काम यस प्रकारका छन् ।

१) शैक्षिक विकास बिना समाज परिवर्तन गर्न सकिदैन भन्ने मान्यता राखी पहिलो प्राथमिकतामा शिक्षालाई जोड दिएर काम गर्नु पर्छ जसअन्तर्गत गाउँमा रहेको सबै स्कुलहरुलाई समान हैसियतको शिक्षाको स्तर र भौतिक सुविधाहरु एवं शैक्षिक गुणस्तर कायम गर्न निश्चित योजना बनाएर कार्यान्वयन गर्नु पर्छ र स्कुलले उपलब्ध सेवा-सुविधालाई उचितरुपमा सञ्चालन गर्नका लागि आउँदा दिनहरुमा त्यस्तै कामका लागी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनु पर्छ । साथै उच्च शिक्षा र कलेज तहको शिक्षालाईसमेत विकास गर्न आवश्यक सहयोग गाउँपालिकाबाट गर्नु पर्छ । त्यस्तै एउटा सार्वजनिक पुस्तकालय गाविसमा पायक पर्ने स्थानमा स्थापना गर्नु पर्छ र त्यसलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्न सकिनेछ यसका लागी दातृ संस्थाहरुको सहयोग र स्वयं गाउँपालिकाको पनि लगानीबाट निर्माण गर्न सक्नुपर्छ ।

२) शैक्षिक क्षेत्र पछि अर्को महत्वपूर्ण क्षेत्र स्वास्थ्य सेवालाई भरपर्दो र सबैको सर्वसुलभ र सामान्य स्वास्थ्य सेवा गाउँमै उपलव्ध हुने वातावरण सृजना गर्न अस्पतालको निर्माण र एम्बुलेन्स सेवाहरु साथै सामान्य चिरफार, एक्स-रे र हात-खुट्टा फ्याक्चर हुँदा प्लास्टरसम्म गर्ने सुविधा गाउँकै स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरी सरकारी निकाय र अन्य सहयोगी संस्था र व्यक्तिको सहयोग जुटाउन सकृयरुपमा लागनु पर्छ र कार्यान्वयन गरिनु पर्छ ।

३) अन्य सामाजिक सेवाहरु जस्तै; खानेपानी, सरसफाई, पोषण कार्यक्रम, सडक, विद्युत-टेलिफोनसेवा साथै खेलकुद विकास, असहाय बालबालिका, असहाय वृद्धहरुको संरक्षणमा सहयोग गरनु पर्छ । त्यस्तै स्वरोजगार र व्यवसायिक आयआर्जन सम्बन्धी तालीमहरु सञ्चालन गरी युवाहरुलाई गाउँपालिका भित्रै जिविका उपार्जनको बाटो देखाउन सहयोग पुर्‍याईनु पर्छ ।

४) किसानहरुलाई कृषक पेन्सनको व्यवस्था मिलाई उनीहरूको आर्थिक विकासमा सहयोग गरिनुपर्छ र गाउँपालिकाको किसानहरुलाई मध्यनजर गरी कृषिमा आधारित रहेर पूर्वधारको व्यवस्था गरी कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ ।

५) बिन्दबासिनी गाउँपालिकाको हरेक वडामा खेल मैदानको व्यवस्था गरी खेलाडी हरुलाई उचित खेल्ने अवसर मिलाउनु पर्छ र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सक्नुपर्छ ।

६) बिन्दबासिनी गाउँपालिकामा रहेका प्रत्येक मठ मन्दिरहरु तथा सम्पूर्ण एतिहासिक सम्पदाहरूको उचित विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको लागि उपयोग गर्नसक्नुपर्छ ।

अन्तमा बिन्दबासिनी गाउँपालिकाको विकास गर्न सबैले आफ्नो स्तरबाट भुमिका निर्वाह गर्न सक्नुपर्छ । जन्मभुमिको विकासलाई टेवा नपुर्‍याई आफ्नो व्यक्तिगत विकासलाई मात्र ध्यान दिनु पनि कति हदसम्म ठिक बेठीक आफै मूल्यांकन गरौँ तर एउटा कुरा याद राखौँ आफ्नो माटोको सुगन्ध सधै उत्तम हुन्छ । यसको संरक्षण र विकासमा सबै जुटौँ ।

Back to top