वीरगञ्ज, १० जेठ । वीरगञ्जको महानगरपालिकाको नगरप्रमुख (मेयर) मा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह ऐतिहासिक मतका साथ निर्वाचित भएका छन् ।
आफ्नो निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवम् वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीलाई २२ हजार ४ सय ४४ मतको विकराल मतान्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हुन् ।
सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्दा निवर्तमान मेयर सरावगी २३ हजार ६ सय ७१ मतमा सिमित भएका छन् । त्यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याएका छन् । गिरीले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सिंह तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट वीरगञ्जको मेयर पदका लागि प्रतिष्पर्धा गरेर तेस्रो भएका थिए । तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट लडेका विजय सरावगी मेयर निर्वाचित हुँदा नेपाली कांग्रेसका जय द्विवेदी दोस्रो भएका थिए । त्यो बेला १२ हजारको हाराहारीमा मत पाएका सोही सिंहले यस पटक सरावगीलाई २२ हजार भन्दा पनि बढी मतको अन्तरले पराजित गरेका छन् ।
सिंह केही महिना अगाडि मात्रै लोसपा त्याग्दै जसपा प्रवेश गरेका हुन् । जसपाबाट निर्वाचित मेयर सरावगीले एमाले जाने निर्णय गरेपछि पर्सा क्षेत्र नं. १ का संघीय सांसद् प्रदीप यादवले सिंहलाई सरावगीसँग प्रतिष्पर्धा गर्न जसपा भित्र्याएका थिए ।