वीरगञ्ज, ९ जेठ । वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिस्चित भएको छ ।
वीरगञ्जमा गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतको अन्तरले सिंह आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवम् निर्वतमान मेयर विजयकुमार सरावगी भन्दा अगाडि रहेकोले महानगरको मेयरमा सिंहको जित सुन्स्चित भएको हो ।
सोमबार बिहान आएको मतगणनाको ताजा परिणाम अनुसार कुल खसेको ९३ हजार ७ सय ८२ मत मध्ये ७७ हजार ५ सय ७७ मत गणना हुँदा राजेशमान १८ हजार ७ सय ५८ मतले अगाडि छन् । अब गणना गर्नका लागि केवल १६ हजार २ सय ५ मत मात्र बाँकी छ ।
गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतको अन्तरले राजेशमानले अग्रता लिएसँगै सिंहको जित सुन्स्चित भएको छ ।
सरावगीले १९ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिश गिरीले २ हजार ८ सय ५७ मत पाएका छन् । गिरीको जमानत जफत हुने अवस्था छ ।
गत आइतबारदेखि सुरु भएको मतगणनाको पहिलो दिनदेखिनै सिंह निकटम प्रतिद्वन्द्वी सरावगी भन्दा अगाडि रहँदै आएका छन् । सरावगीका समर्थकले शहरी क्षेत्रको मतपेटिका खुलेसँगै उनले सिंहलाई उछिन्ने दावी गरेपनि मतपेटिकाहरु खुल्दै उल्टै सिंहले मतान्तर फराकिलो पार्दै गएका थिए । अहिले सिंहले अग्रता लिएको मतभन्दा सरावगीको ९ सय २१ मत मात्र बढी छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सिंह निवर्तमान मेयर एवम् हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका व्यक्ति हुन् । व्यापारिक पृष्टभूमिबाट अचानक आएर तत्कालीन सङ्घीय समाजवादी फोरम प्रवेश गरी मेयरमा उठेका सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर वीरगञ्जको मेयरमा निर्वाचित भएका थिए भने तत्कालिन राष्ट्रिय जनता नेपाल पार्टीबाट लडेर सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।
त्यस्तै वीरगञ्ज महानगरको उपमेयरमा पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको जित सुनिश्चित भएको छ ।
१६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी रहदा गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलमले भने निकटतम प्रतिस्पर्धी भन्दा १८ हजार ३ सय ४७ मतको अग्रता लिइसकेका कारण उनको पनि जित सुनिश्चित भएको हो ।
सोमबार बिहान साढे ७ बजे सम्म ७७ हजार ५ सय ७७ मत गणना हुदा उपमेयरमा आलमले २४ हजार ९ सय १५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसपका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६ हजार ५ सय ६८ मत मात्रै पाएका छन् । राप्रापकी विना जयसवालले ४ हजार ८ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ४ सय ५८ मत पाएकी छन् ।