वीरगञ्ज, १५ बैशाख । पर्साको बिन्दवासिनी गाउँपालिकाका विभिन्न वडाहरुमा नेपाल सुशासन पार्टीको घरदैलो अभियान सञ्चालन भइरहेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलको नेतृत्वमा स्थापित सुशासन पार्टीले पनि पर्सामा चुनावी गतिविधिलाई तिव्रता दिएको हो ।
घरदैलो अभियानअन्र्तगत बिहिवार बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीमा वडाबासीसँग भेटघाट तथा छलफल गरिएको छ । वडाबासीका समस्या बुझ्ने र जनताका समस्या तथा आवश्यक्ताहरुको अध्ययनका लागि घरदैलो अभियान थालिएको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार मधुसुदन चौरसियाले बताए । घरदैलोका क्रममा जनताले नयाँ अनुहार र युवाको आवश्यक्ता खट्किएको बताएकाले आफु नै उक्त बिकल्प भएको चौरसियाको भनाई छ ।
नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्षसमेत रहेका चौरसियाले गाउँपालिकालाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन सबै गाउँबासीलाई अपिल समेत गरेका छन् । वडाबासीको अपेक्षालाई पुरा गर्न र गाउँपालिकालाई समृद्ध बनाउनका लागि गाउँपालिकाबासीले पनि आफुलाई नै समर्थन गर्नेमा चौरसिया विश्वस्त छन् ।
गाउँपालिकाबासीले पनि अब पूराना नेता र पूराना पार्टीबाट कुनै उपलब्धी हुने अवस्था नदेखिएको भन्दै नयाँ पार्टी र नयाँ उम्मेदवारलाई जिताउने प्रतिक्रिया दिएका छन् ।
घरदैलोको क्रममा नेपाल सुशासन पार्टी बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष रञ्जित चौरसिया, गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार खैतुन नेसा खातुन, वडाअध्यक्षका उम्मेदवार सुरेश चौवे, पार्टीका नेता बिनोद चौरसिया, देवनाथ चौरसिया, वकिल मियाँ, वडा सदस्यका उम्मेदवार जैनुल खातुन, बिक्रम दास लगायतको उपस्थिती रहेको पार्टीका जिल्ला कमिटी सदस्य सद्धाम हुसैनले जानकारी दिए ।