वीरगञ्ज १२ वैशाख । राजनीतिक पदका लागि पार्टी प्रवेश गर्नेहरुको कारण पूराना कम्युनिष्ट नेता एमालेबाट विस्थापित भइरहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष तयारीका लागि वीरगञ्ज महानगरपालिका कार्यालयबाट सेवा निवृत्त भएका सुमन श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेसँगै एमालेका प्रभावशाली नेता एवम् प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदिप लामा एमालेबाट बाहिरिएका छन् ।
सरावगी वीरगञ्जको मेयर हुँदा श्रेठ उनका सचिवालयका प्रमुख थिए । श्रेष्ठ र सरावगीले मिलेर महानगरपालिबाट राम्रो कमाई गरेको आरोप लाग्ने गर्छ । अहिले सेवा निवृत्त भएपछि उनले एमाले प्रवेश गरेर वडा अध्यक्षमा उम्मेदवार दिँदैछन् ।
उनको प्रवेशपछि एमालेको नेतृत्वसँग रुष्ट भएका लामाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमालेमा केही व्यक्तिहरुले वर्षौंसम्म पार्टीमा लगानी गरेका कार्यकर्ताहरुलाई पाखा लगाउँदै नवआगन्तुकहरुलाई स्थान दिएको आरोप लगाउँदै लामाले जसपा प्रवेश गरेका छन् । लामाका अनुसार एमाले भित्र रहेका केही मुठ्ठीभर व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीलाई सकाउने खेलमा लागेका छन् । उनले पर्सा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरु हावी भएको बताएका छन् ।
लामालाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादव र जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवारसमेत रहेका नेता राजेशमान सिंहलगायत नेताले पार्टी प्रवेश गराएका थिए । प्रजातान्तिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका लामाको बहिरगमनले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई ठूलो नोक्सानी हुने निश्चित छ ।
लामा जस्तै एमाले वडा नम्बर १२ का एकाई कमिटि अध्यक्ष महमुद अन्सारीले पनि पार्टी परित्याग गरेका छन् । वडा अध्यक्षको दावेदारसमेत रहेका अन्सारीको सट्टा एमालेले नवप्रवेशी र पैसावालालाई वडा अध्यक्षको टिकट दिएको आरोप छ । अन्सारीले पनि एमालेमा पूँजीवाद र परिवारवाद हावी भएको बताउँदै पार्टी परित्याग गरेका छन् । अघिल्लो निर्वाचनमा तत्कालिन विजय गच्छदारको नेपाल लोकतान्तिक फोरमबाट चुनाव लडेर राम्रो मत ल्याएका अन्सारीको यस पटक जित्ने प्रबल सम्भावना थियो । अन्सारी नेकपा माओवादी केन्द्र प्रवेश गर्दै छन् ।
त्यसैगरी एमालेबाट वडा नम्बर ९ मा वडा अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका सतिश सिंह राजपुतले पनि एमाले वीरगञ्ज महानगरको नेतृत्वसँग असन्तुष्टि जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले एमाले वीरगञ्जको संगठन केही गैर संगठित व्यक्तिहरुको हातमा बन्धक रहेको आरोप समेत लगाएका छन् । वडामा सम्पर्क कार्यालय स्थापन गरेर प्रचारप्रसारमा समेत सक्रिय भइसकेका राजपुतको ठाउँमा एमालेले गठबन्धनको उम्मेदवार लोसपाका द्वारिका प्रसादलाई टिकट दिएको छ । द्वारिका केही दिन अगाडि मात्रै लोसपा प्रवेश गरेका व्यक्ति हुन् ।
एमालेको संगठन प्रति असन्तुष्टि जनाउँदै राजपुतले व्यक्तिवादी चिन्तन र ठेक्का प्रथाले एक पटक चुनाव जित्न सकिएपनि दिर्घकालिन रुपमा घाटा हुने बताएका छन् ।
एमाले भित्र पनि पछिल्लो समय पार्टीको गतिविधि प्रति आक्रोश बढ्दै छ । राष्ट्रिय युवा संघका पर्सा जिल्ला अध्यक्ष महोम्मद नेजामको सामाजिक सञ्जाल हेर्दा यो कुरा प्रष्ट हुन्छ । उनले पनि एमालेको नेतृत्वले गर्ने निर्णयहरुको निरन्तर विरोध गरिरहेका छन् । जसपा त्यागेर वीरगञ्ज महानगरको मेयरको टिकटका लागि एमाले प्रवेश गरेका विजयकुमार सरावगीसँग उनि मुख्य रुपले रुष्ट छन् ।
उनिसँगै एमाले वीरगञ्ज महानगर कमिटिका सचिव सुन्दर कुर्मी पनि रुष्ट छन् । अघिल्लो निर्वाचनमा कुर्मीले देखाएको सक्रियता अहिले देखिँदैनन् । कुर्मीपनि सरावगीको एमाले प्रवेशबाट खुसी छैनन् । सरावगीलाई एमालेले महानगरको मेयरको टिकट दिएको भन्दै आइतबार कुर्मीसँगै एउटा समूह पार्टीको कार्यालयमा तालाबन्दी नै गर्न पुगेको थियो ।
एमाले वीरगञ्ज भित्र केहि व्यक्तिहरुले पैसाको लोभमा पार्टीलाई आफू अनुकुल चलाउन खोजिरहेको पार्टीका आम कार्यकर्ता बताउँछन् ।