×

वीरगञ्ज १२ वैशाख । निर्वाचन अगाडि उम्मेदवारीको टिकट पाउने दौडधुपमा र नेताको पछाडि लागेर पार्टी परिवर्तन गर्नु कुनै नौलो कुरा होइन । 

नेपालसहित देशभर अहिले स्थानीय तहको निर्वाचनभन्दा पहिला एउटा पार्टीबाट दोस्रो र दोस्रोबाट तेस्रोमा हाम फाल्ने लहर चलेको छ । देशकै मूख्य आर्थिक र हाल राजनीतिक केन्द्र वीरगञ्जमा केही त्यस्तै दृश्यहरु हेर्न पाइएको छ ।

यसैक्रममा आइतबार वीरगञ्जमा पार्टी परिवर्तनको एउटा अनौठो घटना देख्न पाइयो । दिउँसो एउटा पार्टी प्रवेश गरेका व्यक्ति राती पुनः पुरानै पार्टीमा फर्केको घटना वीरगञ्जमा देखिएको हो ।

जनता सामवादी पार्टी नेपालको नेतृत्वसँग रुष्ट भएर आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका दलित नेता रामाशिष राम र सुकई मियाँसहितको सम्पूर्ण टोलीले नेकपा एमाले प्रवेश गरेको थियो ।

पार्टी प्रवेश गरेका उनीहरुलाई नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगी, जिल्ला इन्चार्ज प्रभ हजरालगायतले फुलमाला र अविर लगाएर स्वागत गरे ।

रामाशिष र सुकईलाई पार्टी प्रवेश गराएर वडा नम्बर २७ मा निकै कमजोर रहेको एमालेले ठूलो उपलब्धि हासिल गरेको राजनीतिक विश्लेषकहरुले बताईरहेका थिए ।

तर, एमालेको खुसी धेरै बेर टिक्न सकेन । दिउँसो जसपासँग रुष्ट रहेका रामाशिषको रिस साँझ हुँदाहुँदै शान्त भयो । एमाले प्रवेश गरेको ६ घण्टा भित्रै उनलाई नेतृत्वले मनाएर पुनः जसपामै प्रवेश गराए ।  

रामआशिषलाई सङ्घीय सांसद् एवम् जसपाका केन्द्रीय सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी लगायतले राती पुनः जसमा प्रवेश गराएका थिए । 
 

Back to top