×

वीरगञ्ज, ११ वैशाख । नेकपा एमाले वीरगञ्जमा पुँजीवाद हावी भएको आरोप लगाउँदै एकजना वडा कमिटिका अध्यक्षले पार्टी परित्याग गरेका छन् ।

जनताको हितमा काम गर्ने व्यक्ति भन्दापनि पार्टीमा पैसावालाहरुको हालीमुहाली बढी भएको र टिकट बाँडफाँडमा पैसाको ठूलो चलखेल भएको आरोप लगाउँदै स्थानीय युवा नेता तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को वडा कमिटिका अध्यक्ष महमुद अन्सारीले एमाले परित्याग गरेका हुन् ।

कोरोनाभाइरस महामारीको समयमा आफ्नो ज्यानको वास्ता नगरी जनताको सेवामा निरन्तर खटेर वीरगञ्जमा पार्टी प्रति बढेको द्वेषलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेका अन्सारीले पार्टी त्याग्दा नेकपा एमालेलाई आसन्न स्थानीय तहको निर्वाचनमा ठूलो घाटा हुने देखिएको छ ।

स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदको एमालेबाट आकांक्षीसमेत रहेका अन्सारीभन्दा पार्टीले पैसावाला र नवप्रवेशीलाई बढी प्राथमिकता दिएको स्थानीयहरुले बताएका छन् ।

पार्टीको लागि निरन्तर खटेर जनमत बनाउन काम गर्ने व्यक्तिलाई महानगर कमिटिले वेवास्ता गर्दै केही व्यक्तिको पारिवारिक प्रभावमा जनतामा पकड नै नभएको व्यक्तिलाई पार्टीले वडा अध्यक्ष उम्मेदवारका रुपमा अगाडि सारेको अन्सारीले यात्राडेलीसँगको कुराकानीमा बताए । 

अन्सारीले आइतबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेमा परिवारवाद हावी रहेको र आउने पिडिहरुलाई पनि असहज हुने निश्चित भएकोले आफ्नो विचार र सिद्धान्त परिवर्तनकारी तर्फ केन्द्रित रहँदै आएकोले आफूले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको जनाएका छन् ।

अन्सारीले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा लडेका थिए । तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट लडेका उनि वर्तमान वडा अध्यक्ष राम दसर कुशवाहसँग पराजित भएका थिए ।

Back to top