वीरगञ्ज, १० वैशाख । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमा सरावगी फेरी पनि आफ्नो बेलगाम बोलीका कारण विवादमा तानिएका छन् । परिणाम नसोचेर बोल्दा पटकपटक विवादमा आइरहने सरावगी यस पटक ठाकुरराम क्याम्पसको बारेमा बोलेर विवादमा तानिएका हुन् । उनले दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नु पर्ने विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
शनिबार एउटा टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै सरावगीले ठाकुरराम क्याम्पसमा परीक्षाको समयमा चिट चोर्ने काम हुने र आफूले त्यहाँबाट ८० बोरा चिट निकालेको भनेर दिएको अभिव्यक्तिका कारण विद्यार्थीहरु आक्रोशित भएका छन् । विद्यार्थीहरुका अनुसार सरावगीले भने जस्तो ठाकुरराममा चिट चोर्ने काम हुँदैन । नेपालकै एतिहाशिक शैक्षिक संस्थाको गरिमामाथि प्रश्न उठ्ने खालको अभिव्यक्ति दिएर उनले सम्पूर्ण विद्यार्थीहरुको मनमा ठेस पुर्याएको उनीहरुको भनाई छ ।
ठाकुरराममा रहेका दुई वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विज्ञप्ति निकालेर मेयर सरावगीलाई अभिव्यक्ति फिर्ता लिँदै माफी माग्न माग गरेका छन् ।
विज्ञप्ति जारी विधार्थी दुवै संगठनद्वारा जारी विज्ञप्तिमा, “आफ्नो काम र कर्तव्य पूरा नगरी वीरगञ्ज महानगरकाे शैक्षिक अवस्थलाई अवकाश दिन नसकेका पूर्व मेयर विजय सरावगीले आज एक अन्तरवार्तामा ठाकुरराम बहुमुखी क्याम्पसबाट ८० बाेरा चिट निक्लेको वक्तव्य प्रति हाम्रो घाेर आपत्ति छ,” उल्लेख गरिएको छ ।
यात्राडेलीसँग कुराकानी गर्दै समाजवादी विद्यार्थी युनियनका एकाई अध्यक्ष हरेन्द्र साहले बिना प्रमाण ठाकुरराम बहुमुखी क्याम्पलाई बदनाम गर्ने अभिव्यक्ति अविलम्ब फिर्ता लिएर माफी नमागे आफूहरु कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।