×

वीरगञ्ज, १० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै राजनीतिक दलहरुले आ-आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् । दलहरुले वडादेखि महानगर स्तरसम्म घरदैलो, चुनावी भेला र रात्रीसभा जोडतोडले गरिरहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको मुख्य बजार पर्ने वडा नम्बर १० मा पनि राजनीतिक दलहरुले आ-आफ्नो गतिविधि बढाएका छन् । 

त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिएको वडामा सबै दलले आफ्नो हिसाबले कार्यक्रमहरु गरिरहेका छन् । वडामा मुख्यतः नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र उम्मेदवार बीच प्रतिश्पर्धा हुने स्थानीय बताउँछन् । नेकपा एमालेले आफ्नो उम्मेदवार उठाएपनि स्थानीयमा पार्टीको खास्सा पकड नभएको कारण त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिएको हो ।

नेपाली कांग्रेसबाट वर्तमान वडा अधक्ष रामनगिना कानुको उम्मेदवार छन् भने जसपाबाट महानगरको कार्यपालिका सदस्य सुशील कुमार कानु छन् । त्यसैगरी स्वतन्त्र तर्फ ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शननगरका अध्यक्ष एवम् समाजसेवी जयप्रकाश खेतान रहेका छन् । नेकपा एमालेले स्थानीय युवा अजय गुप्तालाई वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

अघिल्लो निर्वाचनमा केवल एक सय भोटको झिनो मतान्तरले विजयी भएका वर्तमान वडा अध्यक्ष रामनगिना कानुलाई यस पटक सुशील र जयप्रकाश खेतानले कडा टक्कर दिने भएका छन् । वडामा सबै समुदायको बसोबास भएपनि कानु र मारवाडी त्यहाँका निर्णायक मतदाता हुन् । वडा अध्यक्षका ३ जना उम्मेदवार कानु समुदायबाट भएको कारण सबैको आँखा मारवाडी भोटरमा थियो । तर मारवाडी समुदायका जयप्रकाशले आफ्नो उम्मेदवारी दिएपछि अन्य उम्मेदवारहरुलाई सकस भएको छ । त्यसमाथि राम्रो मत नल्याएपनि एमालेका अजय गुप्ताले सुशील र रामनगिनाको राम्रो भोट काट्ने अनुमान गरिएको छ ।

वडा अध्यक्षका रुपमा निर्वाचित भएर आएपछि रामनगिनाले खासै उपलब्धिमुलक काम नगरेको वडावासीको गुनासो छ । सुशील र जयप्रकाशले यसलाई नै आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएको देखिन्छ । रामनगिनामाथि वडा कार्यालयमा विरलै उपस्थित हुनेगरेको, वडाका भित्री भागहरुमा विकास निर्माणको कामलाई प्राथमिकता नदिएको, फोहर व्यवस्थापनमा चुकेको र कोरोना महामारीको समयमा वडावासीको सहुलियतका लागि काम नगरेको स्थानीयहरुको आरोप छ । उनले गर्न नसकेका यी कामलाई आफू निर्वाचित भएर आएपछि प्राथमिकता दिने सुशील र जयप्रकाशले प्रतिबद्धता जनाएका छन् ।

यता, रामनगिनाले वडा अध्यक्षका रुपमा आफू सफल भएकोले वडावासीले आफैआई दोहोर्याउने दावी गरिरहेका छन् । उनले धेरै काम गरेको दावी गरेपनि वडावासीले यसपटक सबै पक्षको मूल्यांकन गरेर मतदान गर्ने सुशीलको भनाई छ । युवाहरुमा लोकप्रिय सुशील अघिल्लो निर्वाचनमा सानो मतले दोस्रो भएका थिए । तर पराजित भएपनि आफूले महानगरपालिकाको कार्यपालिका सदस्यका रुपमा वडा अध्यक्षभन्दा धेरै काम गरेको उनको भनाई छ । उनको पछाडि देखिएको जनसमर्थन पनि राम्रो छ । 

जयप्रकाश खेतान ग्रिन सिटि सामुदायिक सेवा केन्द्रको अध्यक्षका रुपमा गरेको कामको छवीलाई लिएर चुनावी मैदानमा उत्रेका छन् भने अजय गुप्ताले कोरोना कालमा गरेको आफूले गरेको कामलाई चुनाव जित्ने आधार बनाएका छन् ।

Back to top