×

वीरगञ्ज ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शिव पटेलले आज आधिकारीक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । 

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा मंगलबार आयोजित एक कार्यक्रम नेता पटेलसहित पर्साबाट विभिन्न राजनीतिक दलका नेताहरुले आ-आफ्नो पार्टी त्याग्दै एमाले प्रवेश गरेका हुन् ।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका लगाई पार्टी प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्दै नेता पटेलले मधेशको समृद्धि र देशको सम अब एमालेबाट मात्र सम्भव भएको बताए । केपी ओलीमा मुलुक बनाउने हुटहुटी देखिएकोले आफूले मधेशवादी दल त्यागेर एमालेमा प्रवेश गर्ने निष्कर्ष गरेको उक्नो भनाई थियो ।

मधेशले अब पहिचान नभएर समृद्धि खोजेको बताउँदै नेता पटेलले भने, ‘मधेशले पहिचान होइन, अब समृद्धि खोजेको छ । समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्छ । ओलीको मन्तव्य सुनिरहन्छु अब देश बनाउने जिम्मा नेकपा एमालेको काँधमा छ । मलाई विश्वास छ देश बन्यो भने मधेश पनि बन्छ । हामीजस्ता कार्यकर्ताको मनोबल पनि उच्च हुन्छ। यसमा कुनै दुईमत छैन । तसर्थ एमालेमा प्रवेश गरेको छु । अब बाँकी जीवन एमालेमा समर्पित गरेको छु ।’

पटेलले एमाले प्रतिको आकर्षण बढ्दै गएको बताउँदै उनले आगामी दिनमा अन्य धेरै व्यक्तिहरु एमालेमा जोडिने बताए ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगञ्जका मेयर बिजय सरावगी लगायतको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि नेकपा एमालेमा समाहित भएको छ । सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।

Back to top