वीरगञ्ज ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने गृहकार्य सुरु भएको छ ।
विपक्षीका रुपमा रहेको नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मध्ये लोसपालाई सरकारमा सहभागी गराउने गृहकार्य सुरु भएको हो ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि यस कुरालाई पुष्टि गरेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी लोसपाको प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले लोसपालाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताए ।
यद्दपी, मधेशका विषयमा उठेका मुद्दा र मागहरुलाई सम्बोधन गर्न ठोस प्रतिबद्धता आए मात्र लोसपा सरकारमा सहभागी हुने ठाकुरको अडान छ । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको ठाकुरको भनाई थियो । उनले यस विषयमा पार्टी भित्र पनि छलफल गर्न बाँकी रहेको बताए ।
उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको जानकारी दिए । उनले नागरिकता सम्बन्धी मुद्दा समाधान गर्नका लागि कानुनी जटिलता हटाउने, मधेश आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज गर्ने विषयमा सरकारले गम्भीरता देखाए आफ्नो पार्टी सरकारमा जान सक्ने बताए ।