वीरगञ्ज, ७ चैत । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्न नसकिने सङ्केत गरेका छन् ।
सत्ता गठबन्धनका घटक दलहरु हाल जारी गठबन्धन स्थानीय तहको निर्वाचनसम्म कायम रहने बताईरहँदा अर्को घटक जसपाका अध्यक्ष उपेन्द्र यादवले सबै ठाउँमा गठबन्धनसँग मिलेर चुनाव लड्न सम्भव नभएको बताएका हुन् ।
सोमबार वीरगञ्जस्थति टाउन हलमा यहाँका प्रभावशाली नेता राजेशमान सिंहलाई जसपा प्रवेश गराउँदै अध्यक्ष यादवले आसन्न निर्वाचनमा जसपासँग एक्लैले लड्ने ताकत रहेको बताउँदै भने, “सबै तहमा गठबन्धन सम्भव छैन, जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं, जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लड्छौं । जसपा अहिले एकलाई चुनाव लड्ने ताकत राक्छ । गठबन्धन आवश्यक छैन ।”
यादवले साझा नीति तथा कार्यक्रममा उल्लेख नागरिकता ऐन सशंधोन, संविधान संशोधन, जनसंख्याको आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वलगायतका बुँदा कार्यान्वयनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ढिलाई गरिरहेको आरोप पनि लगाउँदै उनले भने, ‘कांग्रेस अचम्मको पार्टी हो, सरकारमा जानुभन्दा पहिले जेजे भन्यो त्यसमा हस्ताक्षर गरिदिन्छ, तर सत्तामा पुगेपछि सबै बिर्सिन्छ ।’
उनले अहिलेको निर्वाचन प्रणाली धेरै महँगो हुँदै गएकोले यसलाई परिवर्तन गरेर पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ, यसो भयो भने चुनाव लड्न र जित्न पैसा चाहिँदैन ।
नेपालमा रहेका कम्युनिष्टहरु नाम मात्रको कम्युनिष्ट भएको बताउँदै यादवले उनीहरुको धन्दा अर्कै रहेको आरोप लगाए । उनले एमाले अध्यक्ष केपी ओली पूर्वराजा महेन्द्र शाहको अनुयायी रहेको समेत आरोप लगाए ।