×

वीरगञ्ज, ७ चैत । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवारले आफू जनता समाजवादी पार्टी (जसपा) मै रहेको बताएका छन् ।

तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट निर्वाचित वडा अध्यक्ष कलवार एमालेमा प्रवेश गरेको चर्चा चलेपछि उनले आफू जसपा मै रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहानदेखि कलवार वीरगञ्जका मेयर विजयकुमार सरावगीसँग एमाले प्रवेश गर्न काठमाडौँ पुगेको हल्ला चलेको थियो । तर उनले आफू स्वास्थ्य उपचारका क्रममा काठमाडौँ पुगेको कुरालाई केहि व्यक्तिले बङ्ग्याएर एमाले प्रवेश गरेको हल्ला चलाएको बताएका छन्  ।

आफू एमालेमा गएको सबै हल्ला निराधार भएको बताउँदै उनले त्यस्तो कुरामाथि विश्वास नगर्न आग्रह पनि गरेका छन् । “म आफ्नो स्वास्थ्य उपचारका लागि हिजो काठमाडौँ गएको थिएँ । हिजो चिकित्सकसँग भेटे, तर हल्लाको कारण आफ्नो उपचार अधुरै छोडेर आजै बिहान फेरी वीरगञ्ज फर्किसकेको छु,” कलवारले यात्राडेलीलाई भने, “मलाई बदनाम गराउन हल्ला मात्र फिजाइएको छ, त्यस्तो कुरामाथि विश्वास गर्नुहोला । अहिले पनि म जसपा मै छु ।”

वडा अध्यक्ष कलवार मेयर सरावगीसँग ३० लाख रुपैयाँ लिएर एमाले प्रवेश गर्न लागेको हल्ला चलेको थियो ।

Back to top