वीरगञ्ज, ७ चैत । वीरगञ्ज महानगरपालिकाका दुईजना निर्वाचित वडा अधक्षले पनि एमाले प्रवेश गरेका छन् ।
महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीलगायत एमालेका नेतासँग काठमाडौँ पुगेका दुई जना निर्वाचित वडा अध्यक्षसहित दर्जनौँ अन्य नेता र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
मेयर सरावगी यसअघि नै एमालेमा प्रवेश गरिसकेका छन् । उनि एक साता अगाडी वीरगञ्जमा एउटा वैवाहिक कार्यक्रममा एमाले प्रवेश गरेका थिए । यहाँस्थित नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर त्यही वैवाहिक कार्यक्रममा मेयर सरावगीले एमाले प्रवेश गरेका थिए ।
एमाले प्रवेश गर्ने वडा अध्यक्षहरुमा वीरगञ्ज २५ का वडा अध्यक्ष विश्वराजप्रसाद कुर्मी र वीरगञ्ज-२८ का वडा अध्यक्षका श्रीमान् जयनारायणसिंह कुर्मी रहेका । तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित वडा अध्यक्ष कुर्मीद्वयसँगै पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँस्थित आफ्नो निवासी बालकोटमा एक कार्यक्रमबीच माला र टिका लगाएर स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।