वीरगञ्ज, ३० फागुन । नेकपा एमालेका नेता राजेशमान सिंहले वीरगञ्जवासीसँग सल्लाह मागेका छन् ।
सिंहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगञ्ज महानगरका लागि मेयरको टिकट पाउने छाँटकाँट नदेखेपछि पार्टीमा रहने नरहने कुरामा जनतासँग सल्लाह मागेका हुन् ।
वीरगञ्ज महानगरका मेयर विजय सरावगी र आफूसँगै एकै ठाउँमा बस्न नसक्ने बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै वीरगञ्जवासीसँग सुझाव मागेका छन्, ‘जनताको हक अधिकारका लागि लड्ने हामी र भगवानले दिएको सबै छ भनी भ्रष्टचार गर्ने मेयरसँग एकै ठाउँमा बस्ने वातावरण कसरी बन्छ ? कसरी काम गर्न सकिन्छ ? त्यसकारण म मेरा सम्पूर्ण वीरगञ्ज महानगरवासीसँग सल्लाह चाहन्छु । अब मैले के गर्दा उपयुक्त हुन्छ ? म यहाँहरुको सल्लाह अनुसारको निर्णयमा जान चाहन्छु ।’
गत स्थानीय तहक निर्वाचनमा सिंह र सरावागी प्रतिश्पर्धी थिए । छुट्टाछुट्टै पार्टीबाट लडेका दुवैमध्ये सरावगी मेयरमा सरावगी निर्वाचित भएपनि आ-आफ्नो पार्टीबाट असन्तुष्ट उनीहरुले एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दा दुवैले मेयरको टिकट पाउने आश्वाशन पनि पाएको बुझिएको छ ।
सिंह केही साता अगाडी लोसपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका थिए भने सरावगी यही हप्ता जसपा त्याग्दै एमाले प्रवेश गरेका छन् ।
सरावगी एमाले प्रवेश गरेसँगै सिंहले मेयरको टिकट पाउने सम्भावना न्यून हुँदै गएको छ । सरवागी निर्वाचित मेयर भएको कारण उनले नै टिकट पाउनुपर्ने एमालेकै केही नेताहरुको तर्क छ ।
अफ्ठ्यारोमा फँसेका सिंहले सामाजिक सञ्जालको सोही पोस्टमा मेयर सरावगीमाथि विभिन्न आरोप पनि लगाएका छन् । ‘आकर्षक नाराको ललिपप देखाएर, मेरो कसम जस्तो झुठो वाचा गरेर, वीरगञ्ज महानरमा जितेपछि जनताको अमूल्य मतको कदर नगरी भ्रष्टचार र बेथितीमा लिप मेयरको हामीले सुरुदेखि नै विरोध गर्यौं,’ उनले लेखेका छन् ।
सामान्य सफाई र नालाको समेत व्यवस्थापन गर्न नसकेको मेयर सरावगीलाई एमालेले पार्टी प्रवेश गराएको गुनासो गर्दै उनले थपेका छन्, ‘जनतालाई सहुलियतर सुशासनको कुरा त परै जाओस । सामान्य सफाई र नालासम्म व्यवस्थित गर्न नसक्ने, जनताको दु:खमा खडा नहुन सक्ने मेयरलाई नेकपा एमालेले पार्टी प्रवेश गराएको छ ।'
एमालेमा टिकट निश्चित नभएपछि सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने चर्चा पनि चलेको छ । उनले यस विषयमा जसपाका जिल्लादेखि केन्द्रीय स्तरको नेतासँग छलफलसमेत गरेको स्रोतले जनाएको छ ।