×

वीरगञ्ज, २८ फागुन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले आधिकारीक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । विगत केही दिनदेखि सरावगीले एमाले प्रवेश गर्ने कुरा चलेपनि आज उनले आधिकारीक रुपमा पार्टी प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी (तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित मेयर विजय सरावगीले शनिबार वीरगञ्जमा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

यहाँस्थित नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिकलगायतले एमाले प्रवेश गरेका छन् ।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरेका छन् । जसपा त्यागेर सुरुमा कांग्रेस प्रवेश गर्ने चर्चा चलेपनि नेताहरुसँग कुरा नमिलेपछि उनले एमाले प्रवेश गरेको छन् । कांग्रेस प्रवेश गर्ने विषयमा उनले प्रधानमन्त्री शेर बहादुर देउवासँग समेत भेटघाट गरेका थिए । तर जिल्लामा रहेका कांग्रेसका नेताहरुले सरावगीलाई साथ नदिएपछि उनि ओलीसँग भेटघाट गरेर एमाले प्रवेश गरेका हुन् । 

सरावगीलाई पार्टीमा स्वागत गदै ओलीले नेकपा एमाले मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएर जनताका वास्तविक समस्यालाई समाधान गर्ने पार्टी भएको बताए । “नेकपा एमाले देश बनाउने पार्टी हो । जनताका सस्म्या समाधान गर्ने पार्टी हो । जनताका दु:ख कष्टलाई सम्बोधन गर्ने, तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी होइन । ” प्रतिपक्षमा भएपनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडी आउने ओलीले दावी गरे ।

पार्टी प्रवेश गर्दै सरावगीले जसपामा अहिलेपनि जातिवाद हावी रहेको कारण राम्रो मान्छे त्यो पार्टीमा टिक्न नसक्ने बताए । “जसपाबाट मैले छोड्ने धेरै कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन” उनले भने, “अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन ।”

सरावगीले आफू झन्डै कांग्रेसमा प्रवेश गरेको तर पूर्वमन्त्री मोतिलाल दुगडले आफूलाई बीचबाट केपी ओलीसँग भेट गराउन लागेपछि एमाले प्रवेश गरेको बताए । “म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कांग्रेसमा जान्छु भनेर हिडेको मान्छेलाई पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,” उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।”

सरावगीले चैत ८ गते पुन: केपी ओलीको उपस्थितिमा वीरगञ्जमा हुने आमसभामा ठूलो संख्यामा जसपा लगायतका पार्टी त्यागेर नेताहरुले एमाले प्रवेश गर्ने बताएका छन् ।

कार्यक्रम पश्चात ओली जसपा त्यागेर एमाले जान लागेका बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीलाई पार्टी प्रवेश गराउन बारा पुगेका छन् । उनि आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको नेकपा एमाले पर्साका अध्यक्ष तथा इन्चार्ज प्रभु हजराले जानकारी दिए ।

(यसअघि भूलवश वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवारको नाम पनि एमालेमा प्रवेश गरेको लेखिन् गाएकोमा क्षमाप्रार्थी छौं । - स्पादाक) 

Back to top