वीरगञ्ज, २८ फागुन । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आज बारा आउने भएका छन् ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा आयोजित जनसभामा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन् एमाले अध्यक्ष ओली बारा आउन लागेका हुन् ।
तर, बारा पुग्नुभन्दा पहिला ओली वीरगञ्ज आउँछन् । यहाँ कार्यकर्तासँग भेटघाट र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने विषयमा छलफल हुने कार्यक्रम रहेको जनाइएको छ ।
सरावगीलाई पार्टी प्रवेश गराएर एमालेबाट वीरगञ्जको मेयर लडाउने विषयमा ओलीको वीरगञ्ज भ्रमण केन्द्रित रहने स्रोतको दावी छ । सरावगी आफूसँग जसपा र अन्य पार्टीको समेत एउटा ठूलो समूह लिएर प्रवेश गर्ने लागेको बुझिएको छ ।
तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित सरावगी हाल जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य छन् । जसपामा कार्यकर्ताहरुले असहयोग गरेको भन्दै असन्तुष्ट रहेका सरावगी एमाले प्रवेश गर्न लागेका हुन् ।
वीरगञ्जको भेटघाट पश्चात ओली हेलिकप्टरबाट आदर्श कोतवाल गाउँपालिका पुग्ने छन् । गाउँपालिकाको रामचरित्र विद्यालयमा रहेको कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले आफू निकटका वडा अध्यक्षसहित पार्टी प्रवेश गर्ने एमाले बाराका अध्यक्ष बिनोद साहले जानकारी दिए ।
जसपाबाटै निर्वाचित अन्सारी पार्टीभित्रको आन्तरिक कलह र अध्यक्ष उपेन्द्र यादवको एकलौटी प्रवृतिबाट विक्षिप्त भएर एमाले प्रवेश गर्न लगाएको बताएका छन् ।