×

वीरगञ्ज, २७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साका अर्का प्रभावशाली नेता शिव पटेल पनि नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

पर्साको बहुदरमाई नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहेका नेता पटेल एमाले प्रवेश गर्न लागेका हुन् । पटेल बिहिबार काठमाडौँ पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्तासँग काठमाडौँ पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका पटेलले आधिकारीक रुपमा आगामी चैत्र ८ गते एमाले प्रवेश गर्ने जनाइएको छ । 

फागुन २९ गते बहुदरमाईमा एउटा कार्यक्रम गरेर एमाले प्रवेश गर्न लागेको घोषणा गर्ने र चैत्र ८ गते वीरगञ्जमा केपी शर्मा ओलीको उपस्थितिमा हुने सभामा वीरगञ्जका मेयर विजयकुमार सरावगी, राजेशमान सिंह लगायतका नेताहरुसँग पार्टी प्रवेश गर्ने पटेलले यात्राडेलीसँगको टेलिफोन संवादमा जानकारी दिए । 

मधेशवादी दल आफ्नो मूख्य एजेण्डा भुलेर टुटफुटको राजनीति गरिरहेको कारण आफूले पार्टी परित्याग गरेको पटेलले बताए । “मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र बाँकी रहेका मधेशी जनताको मागलाई पूरा गराउन अबको राजनीति एमालेबाट गर्ने छु,” पटेलले भने, “जनताको मत लिएर गएका मधेशवादी दल आफ्नो मूख्य एजेण्डा भुलेर घरझगडामा लागेका छन् । उनीहरुले मधेशलाई अधिकार दिलाउँ सक्दैनन्, त्यसैले पार्टी परित्याग गरेको हुँ ।”

गत स्थानीय तहको निर्वाचनमा पटेल तत्कालिन राष्ट्रिय जनता दल (राजपा) बाट बहुदरमाई नगरपालिकाको मेयर लडेका थिए । निर्वाचनमा दोस्रो स्थान ल्याएका पटेल यस पटक एमालेको सहयोग पाएर मेयर जित्ने दाउमा छन् । गत निर्वाचनको अंक गणितलाई विश्लेषण गर्दा एमालेको सहयोग पाएपछि पटेल जित्ने सम्भवना बढ्ने देखिएको छ ।

नेपाल सद्भावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मञ्चबाट राजनीतिमा प्रवेश गरेका पटेल पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलनका क्रममा अग्रपंतिमा आएर संघर्ष गर्ने नेतामध्ये एक हुन् । सद्भावना पार्टीसँग मिलेर बनेको राष्ट्रिय जनता दलको महासचिव समेत भइसकेका पटेल हाल लोसपासँग आबद्ध थिए ।

जिल्लामा शक्तिशाली बन्दै एमाले

पर्सामा नेकपा एमाले जिल्लामा शक्ति केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । नेकपासँगको विभाजन पश्चात आक्रामक रुपमा संगठन विस्तारमा लागेको एमाले पर्साले हालसम्म ३ वटा निर्वाचित स्थानीय तहका प्रमुखलाई पार्टीमा ल्याइसकेको छ । जसमध्ये एकजना मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्जका मेयर विजयकुमार सरावगी हुन् । त्यसैगरी पर्साको ग्रामिण क्षेत्रमा राम्रो पकड भएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ र छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले यसअघिनै माओवादी केन्द्र त्यागेर एमाले रोजिसकेका छन् । जालिमले यस पटक पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने चर्चा छ । त्यहाँ हाल लोसपाबाट लक्षमणलाल कर्ण निर्वाचित भएका छन् । तर स्थानीयको अपेक्षा अनुसार कर्णले काम गर्न सकेका छैनन् । 

त्यसैगरी वीरगञ्जका अर्का प्रभावशाली नेता राजेशमान सिंहलाई पनि एमालेले तानेपछि गत स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको एमालेले यसपटक मेयरदेखि वडासम्ममा आफ्नो वर्चस्व जमाउने राजनीतिक विश्लेषकहरुको भनाई छ । 

कमजोर बन्दै लोसपा

अर्कोतर्फ, पटेलले पनि पार्टी त्यागेसँगै लोसपा पर्सामा अब औँलामा गन्ने नेताहरु मात्र बाँकी रहेका छन् । ग्रामिण क्षेत्रमा पहिलादेखि कमजोर पकड रहेको लोसपाले पटेल र राजेशमानलाई गुमाएसँगै जिल्लाको एउटा महानगर र नगरमा झन् कमजोर बनेको छ । पर्सा क्षेत्र नम्बर २ मा लोसपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवपनि एमाले जाने चर्चा चलिरहेको छ । उनि गएपछि लोसपालाई आगामी निर्वाचनमा सबै सिटमा उठाउनका लागि उम्मेदवारसमेत नभेट्ने अवस्था आउन सक्छ ।

Back to top